घरबास बनाइदिन बादी समुदायको आग्रह

  ।   २०८० पुष ६, शुक्रबार ११:०४

नेपालगन्ज । बाँकेका घरबासविहीन बादी समुदायले लुम्बिनी प्रदेससभा सदस्यसमक्ष आफ्नो घर बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेस सांसद दुर्गाप्रसाद चौधरीसमक्ष कोहलपुर नगरपालिका भित्र बसोबास गरिरहेका बादी समुदायले आफ्नो घर निर्माण गरिदिनका लागि आग्रह गर्दै बिहीबार ज्ञापनपत्र बुझाएका हुन् ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित लोकनगरमा रहेका बादी समुदायले सांसद चौधरीसमक्ष जनता आवास कार्यक्रममार्फत घरबास बनाइदिनका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएको बादी समुदायका अध्यक्ष टीका बादीले जानकारी दिनुभयो ।

बादी समुदायको उत्थानका लागि दिगो रुपमा आयआर्जनको व्यवस्थापनका लागि विभिन्न सिपमूलक तालिम तथा घर निर्माण गर्नका लागि जनता आवस कार्यक्रममा प्राथमिकताका साथ समावेश गरी सम्पूर्ण बादी समुदायको घर निर्माण गर्न आग्रह गर्दै सांसद चौधरीसमक्ष ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो ।

बादी समुदायको ज्ञापनपत्र बुझ्दै पूर्वमन्त्री समेत रहुनभएका सांसद चौधरीले जनताका आधारभूत आवश्यकतामा आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाउनुभयो । उहाँले बादी समुदायको उत्थान तथा आयआर्जनमूलक कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै घरबास निर्माणका लागि जनता आवास कार्यक्रममा समावेश गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

यसअघि पनि विपन्न समुदायलाई लक्षित गरी सङ्घीय विशेष अनुदान कार्यक्रममार्फत दलित तथा विपन्न समुदायअन्तर्गत कोहलपुरको १४ र १५ नम्बर वडाका खटीक समुदायसहित बादी तथा गन्धर्व समुदायको उत्थानका लागि आयआर्जन तथा परम्परागत सिपमार्फत पुर्ख्याैली पेशालाई संरक्षण र संवर्द्धन गर्न एक करोड रुपियाँ बराबरको रकमबाट विभिन्न कार्यक्रम गरिएको सांसद चौधरीले जानकारी दिनुभयो ।

बादी समुदायले ज्ञापनपत्रमार्फत राख्नुभएका विभिन्न मागलाई सम्बोधन गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम समावेश गर्न सक्रियताका साथ पहल गर्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब तथा विपन्न वर्गका नागरिकहरुको माग, समस्या तथा गुनासा सङ्कलन गरिरहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका विभिन्न वडामा बादी समुदायका १ सय २ घरपरिवार रहेको कोहलपुर नगरपालिकाका पूर्व कार्यपालिका सदस्य तथा उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिलबहादुर परियारले जानकारी दिनुभयो ।

यसअघि सङ्घीय सरकारको बजेटबाट एकीकृत नमुना बस्तीमार्फत घरबासविहीन एक परिवार बादी समुदाय र १९ परिवार गन्धर्व समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

बादी समुदायको १ सय २ परिवारमध्ये २०७४ देखि २०७९ सम्ममा आठ परिवारलाई जनता आवास कार्यक्रममार्फत घर निर्माण गरी हस्तान्तरण गरिएको परियारले बताउनुभयो । बाँकी रहेका बादी समुदायले घर निर्माण तथा आयआर्जनका लागि सिपमूलक तालिमको माग गर्दै सांसद चौधरीसमक्ष ज्ञापनपत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।

Next Post

प्रशासनको अनुगमनले व्यापारीको निद्रा हराम

२०८० पुष ६, शुक्रबार ११:०४
नेपालगन्ज । बाँके प्रशासनले बजार अनुगमनलाई दैनिक रुपमा तीव्रताका साथ अगाडि बढाइरहँदा उपभोक्ताको हित विपरीत कालोबजारी गरी उपभोक्ता ठग्ने व्यापारीको निद्रा हराएको छ भने् उपभोक्ता भने सरकार भएको अनुभूति गर्दै खुसी देखिएका छन् । बाँके प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा […]