काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणको तयारी पूरा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउन्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिनेछ । पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिनेछ । ग्राउन्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ ।
ग्राउन्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघकै बस प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । खेलाडीहरुलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उहाँले बताउनुभो ।
यस्तै, स्वास्थ्य मापदण्डका कुराहरुमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरु मिलाउन चुनौती रहे पनि खेलाडीहरु मैदान उत्रन उत्साही रहेको बताउनुभो ।