नेपालगन्ज । बाँके प्रशासनले बजार अनुगमनलाई दैनिक रुपमा तीव्रताका साथ अगाडि बढाइरहँदा उपभोक्ताको हित विपरीत कालोबजारी गरी उपभोक्ता ठग्ने व्यापारीको निद्रा हराएको छ भने् उपभोक्ता भने सरकार भएको अनुभूति गर्दै खुसी देखिएका छन् ।
बाँके प्रशासनले जिल्लाका विभिन्न क्षेत्रका बजारमा दैनिक रुपमा सशक्त अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत कार्य गरी उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई कानुन बमोजिम कारबाही प्रशासनले गरेको छ ।
दैनिक अनुगमनको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ नेतृत्वको सरोकारवाला निकायसहितको अनुगमन टोलीले बिहीबार नेपालगन्जका विभिन्न माछा तथा मासु विक्री गर्ने पसलहरुको अनुगमन गरेको छ ।
नेपालगन्जको जमुनाह र धम्बोझी बजारक्षेत्र आसपासका विभिन्न नौ वटा माछा तथा मासु पसल अनुगमन गर्दा छ वटा पसलले उपभोक्तालाई ठगी गरेको पाइएपछि तिनीहरुलाई कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
मो. सरिफ फ्रेश हाउसले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप २० हजार रुपियाँ जरीवाना गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उक्त पसलबाट खसीको मासु ७ किलो र कुखुराको मासु ३.८ किलो खान अयोग्य रहेको पाइएकाले जफत गरी नष्ट गरिएको थियो ।
प्रजिअ पोखरेलका अनुसार अल्लाह बिस्मिल्लाह फ्रेस हाउसले पनि बिल बिजक बिना कारोबार गरेको पाइएकाले १० हजार रुपियाँ जरिवाना गरिएको थियो ।
सुफियाना फ्रेस हाउसबाट मङ्गुर माछा ३ किलो, कुखुराको मासु २.५ किलो र अन्य जातको माछा २९ किलो खान अयोग्य पाइएकाले जफत गरी नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेको पाइएकाले ५ हजार रुपियाँ जरीवाना गरी कारबाही गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
हाम्रो फ्रेस हाउसबाट पनि खसीको मासु ११ किलो र कुखुराको मासु ३.५ किलो खान अयोग्य रहेको पाइएकाले जफत गरि नष्ट गरिएको तथा बिल बिजक बिना कारोबार गरेकाले २० हजार रुपियाँ जरिवाना गराइएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी जमुनाह बजार क्षेत्रमा खुल्ला रुपमा सडक पेटीमा माछा बेचिरहेका दुई जना विक्रेताले अनुगमन टोलीलाई देखेर भागी फरार भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । विक्री स्थलबाट ३५ किलो माछा बरामद गरी नष्ट गरिएको थियो । सो स्थानबाट ८ हजार २ सय ८० रुपियाँ नगद, नोकिया मोबाइल एक थान, माछा काट्ने औजार र ढक तराजु दुई थान बरामद गरी मुचुल्कासहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
कुनै पनि बहानामा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरी उपभोक्ता ठग्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाहीको दायरामा ल्याइने र उपभोक्ताको हित अनुसार काम गर्ने गरी दैनिक रुपमा प्रशासनको नेतृत्वमा सरोकारवाला निकायको सहभागितमा बजार अनुगमनलाई तीव्र रुपमा निरन्तरता दिइने प्रजिअ पोखरेलले बताउनुभयो ।