
सविता चन्द, नेपालगंज ।
नेपालगन्जको मुटु मानिने त्रिभुवन चोकदेखि थोरै पूर्वतिर गएपछि पुगिन्छ सुन्दर रानीतलाउ । रानीतलाउ अहिले व्यवस्थित र सुन्दर छ । रानीतलाउको वरिपरि विभिन्न प्रजातिका रंगीचंगी फूलहरुले त्यहाँको सौन्दर्यीकरण बढाएको छ ।
रानीतलाउमा बोटिङको आनन्द पनि लिन पाइन्छ । मात्र २५ रुपैयाँमा आनन्दले बोटिङ गर्न पाइन्छ । तलाउ वरिपरि बस्नका लागि सिमेन्टेड बेन्चहरु बनाइएको छ भने बालबालिकाहरुका लागि खेल्ने झुला पिङहरुको पनि व्यवस्था गरिएको छ । साथै पार्किङको समेत व्यवस्था छ । त्यहाँ क्यान्टिनको समेत व्यवस्था छ ।
अझ रमाइलो त त्यहाँ पुग्ने जो कोहीले पनि तलाउमा भएका माछाहरुलाई चारो हाल्दिएर आनन्द लिन पनि सकिन्छ । चारोको व्यवस्था पनि त्यहीँ गरिएको छ । २० रुपैयाँमा माछाको चारो किनेर माछालाई हाल्देर मन आनन्दित पार्न सकिन्छ ।
रानीतलाउमा शनिवार वा अन्य बिदाका दिनमा घुम्न आउने पर्यटकको भिड हुने गरेको बताउनुहुन्छ, टिकट काउन्टरका कर्मचारी दिपक खनाल । उहाँका अनुसार मात्र १० रुपैयाँको टिकट काटेर रानीतलाउ भित्र प्रवेश गर्न पाईन्छ ।
उक्त तलाउ नेपालगन्ज उपमहानगरपालिकासँग बार्षिक ५ लाख रुपैयाँमा शुभ एनएस कन्ट्रक्सनले ठेक्कामा संचालन गरेको बताउनुहुन्छ, कन्ट्रक्सनका प्रतिनिधि बिवेक वाजपेयी । उहाँका अनुसार उक्त कम्पनीले उपमहानगरपालिकासँग १० बर्षसम्म संचालन गर्नका लागि ठेक्कामा सम्झौता गरेको छ ।





