कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना

  ।   २०७८ भाद्र २२, मंगलवार ०७:४७

काठमाण्डौ । सरकारले राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै यससम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना(२०७८ को कार्यतालिका मन्त्रिपरिषदमा पठाएको थियो । विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम सुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको काम भदौदेखि नै अघि बढ्ने र मूल गणना २५ कात्तिकदेखि ९ मंसिरसम्म तय भएको हो ।

कार्यतालिकाअनुसार भदौ २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र ३० गतेदेखि असोज १८ सम्म सुपरभाइजरहरूले घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् । त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिनेछन् ।

उनीहरूको तालिमपछि मूल गणना हुनेछ । विभागका निर्देशक ढुण्डीराज लामिछाने जनगणनाको तयारी निरन्तर भइरहेको बताउनुभयो । यसअघि विभागले ८ असारदेखि जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण तय भएको मितिसमेत स्थगित भएको थियो । नेपालमा १९६८ सालबाट जनगणना सुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन स्थगित भएको थियो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।

Next Post

लिखित कानून जस्तै सोच पनि परिवर्तन गर्नु उस्तै

२०७८ भाद्र २२, मंगलवार ०७:४७
“मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन ।” खस–नेपाली भाषाका महाकवि लक्ष्मी प्रसाद देवकोटाकृत मुनामदन पढ्दा, सुन्दा जति प्रिय लाग्छ, यसले निर्माण गरेको भाष्य भने उतिकै डर लाग्दो छ । नेपाली समाजमा समानता र अवसरका कुरा गर्दा जातिले खास असर पर्दैन भन्छन्, भन्दै प्रतिस्पर्धाको परिभाषा गर्ने जमात ठुलो छ । त्यसैले […]