प्रेम विश्वकर्मा, बर्दिया ।
पूर्व जनमुक्ति सेनाका लडाकु भई अहिले घाईते अवस्थामा रहेकाहरु संगठित भएका छन । राज्य पक्षले आफना मागहरु सम्बोधन नगरेको भन्दै घाईतेहरु संगठित हुन थालेका हुन ।
यसकोे शुरुवात बर्दियाको राजापुरबाट गरिएको छ । जस अनुसार पहिलो पटक बर्दियाको राजापुरमा पूर्व जनमुक्ति सेनाका लडाकु घाईतेहरुको नगर स्तरिय समिति बनाईएको छ ।
फिरु थारु (बिकास) को अध्यक्षतामा ३१ सदस्य समितिको उपाध्यक्ष लक्ष्मी थारु र सचिव महेश प्रसाद थारु रहनुभएको छ । यसमा आवाद्ध हुनेहरुको संख्या ६९ जना पुगेको छ ।
अहिले पनि धेरै जना घाईतेहरु गोली शरीरमा राखेर बाँच्नु परिरहेको भन्दै उनीहरुको उपचार लगायतका विभिन्न बिषयलाई संगठित रुपमा उठाउन, राज्य पक्षलाई सुनाउन समिति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजापुरका नगरअध्यक्ष देउराम चौधरी (अशोक) ले जानकारी दिनुभयो ।
नेपालमा चलेको १० बर्षे शसस्त्र द्धन्द्धका क्रममा विद्रोही पक्ष (तत्कालिन माओवादी) को पक्षबाट जनमुक्ति सेनाको रुपमा लडेका धेरै ठुलो संख्याका लडाकुहरु अहिले घाईते अवस्थामा छन ।
उनीहरुको तथ्यांक संकलनको कार्य पनि गरिने जनाईएको छ ।