भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउनु भएको नेपाली सेनाले जनाएको छ ।
भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय रहेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्षको शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ ।
त्यसअघि उहाँले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदानप्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ ।