नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँके जिल्ला समन्वय समितिले प्रेस विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताले भ्रष्टाचार र सुशासनका पक्षमा सुरु गरेको आन्दोलनमाथि राज्यद्वारा भएको क्रुर दमनप्रति तीव्र आपत्ति जनाएको छ ।
विज्ञप्तिमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे (जेम्मा) र सचिव डिल्ली बराल (आमिर) द्वारा हस्ताक्षरित विज्ञप्तिमा जेन–जी आन्दोलनलाई ऐतिहासिक निरन्तरता र परिवर्तनकारी एकताको प्रतिविम्बका रूपमा व्याख्या गरिएको छ । भ्रष्टाचार, तानाशाही प्रवृत्ति, असमानता र प्रतिगामी शक्तिहरूविरुद्ध उठेको यो आन्दोलनले देशको लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन योगदान गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलहरूको असफलता, संसद् र सरकारको भ्रष्ट चरित्र, मौलिक हक अधिकारमाथि प्रहार, बेरोजगारी र असमानताको पीडाले युवापुस्तालाई सडकमा आउन बाध्य बनाएको छ ।”
त्यस्तै, लोकतान्त्रिक मूल्य, शान्ति, संविधान र गणतन्त्रको रक्षा गर्न सम्पूर्ण शक्तिहरूलाई एकजुट हुन माओवादी केन्द्र बाँकेले आह्वान गरेको छ । साथै, जनआन्दोलनलाई बदनाम गर्ने, युवाहरूको बलिदानलाई अवमूल्यन गर्ने र दमनकारी कदमलाई तत्काल अन्त्य गर्न सरकारसँग आग्रह गरिएको छ ।
माओवादी केन्द्र बाँकेले जनताका न्यायपूर्ण मागलाई सम्बोधन गर्दै आन्दोलनको आत्मा अनुसार राज्यलाई जिम्मेवार बन्न पनि सचेत गराएको छ ।




