सुशीला कार्की प्रधानमन्त्री बन्ने लगभग पक्का

  ।   २०८२ भाद्र २७, शुक्रबार ०१:१८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो राजनीतिक संकटबारे शीतल निवासमा संविधानविदहरुसँग परामर्श गर्नु भएको छ । परामर्शपछि आन्दोलनरत जेन–जी पुस्ताको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

शीतल निवासमा संविधानविद भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल, ललितबहादुर बस्नेतलगायतको सहभागितामा भएको छलफल साँझसम्म चल्यो । परामर्शपछि बाहिरिएका एक संविधानविदले भन्नुभयो, “आन्दोलनकारी युवाहरुको भावनाको कदर गर्दै अन्तरिम सरकारमा उनीहरुको प्रतिनिधित्व हुनुपर्ने हामीले राष्ट्रपतिलाई सुझाव दिएका छौं । शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्नुहुनेछ भन्ने आशा लिएको छु ।”

शीतल निवाससम्बन्धी हल्ला असत्य भएको स्पष्ट गर्दै उहाँहरुले भन्नुभयो, “शीतल निवासको अगाडिको भाग मात्र जलेको रहेछ । नेपाली सेनाले नयाँ भवन बचाएको छ । हामीले त्यही भवनमै राष्ट्रपतिसँग भेट गरेका हौं । राष्ट्रपति सुरक्षित हुनुहुन्छ ।”

जेन–जी पुस्ताले दलका नेताहरुलाई अस्वीकार गरेपछि राष्ट्रपति पौडेलले स्वतन्त्र र दलबाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लागिपरेको संविधानविदहरुको दाबी छ ।

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री चयन भएमा उहाँ नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्नुहुने छ ।

Next Post

नेपालगन्जमा माओवादी केन्द्रको अन्तरक्रियाले संविधानको उपलब्धि र चुनौतीमा नयाँ दृष्टिकोण प्रस्तुत

२०८२ भाद्र २७, शुक्रबार ०१:१८
सबिता चन्द नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा माओवादी केन्द्रले संविधान दिवस २०८२ को अवसरमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा संविधान निर्माणको ऐतिहासिक यात्रा, यसको महत्व, कार्यान्वयनका चुनौती र आगामी सम्भावनाहरूलाई गहिरो विश्लेषणसहित प्रस्तुत गरिएको छ। कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ ले संविधानलाई “जनताको लामो संघर्ष र बलिदानको प्रतिफल”को […]

सम्बन्धित शीर्षक