काठमाण्डौ | डाक्टरहरुले आफ्नो घरमा रहेका पाको उमेरका व्यक्ति र मुटुरोग, मधुमेह, क्यान्सर लगायतका दीर्घरोगीसँग सकेसम्म कम घुलमिल हुन आग्रह गरेका छन् ।
मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका मुटुको शल्यक्रिया गर्ने डाक्टर अनिल भटराईले बढी उमेरका व्यक्तिलाई कोरोनाले बढी असर देखाउने भएकोले घरमा रहेका त्यस्ता वर्गका मानिससँग कम बोल्नुपर्ने वा घुलमिल हुनुपर्ने बताउनुभयो ।
सक्रिय रहने उमेर समूहका मानिसले कोरोनाको सङ्क्रमण फैलाउन बढी भूमिका खेलेको पाइएको भन्दै आफूमा लक्षण नदेखिएमा पनि अरुमा कोरोना सर्छ भन्ने कुरामा सजग हुन डाक्टर भट्टराईले आग्रह गर्नुभयो । उहाँले नियमित औषधि खाइरहेका दीर्घरोगीहरुले कम्तीमा तीनरचार महिनालाई पुग्ने औषधि घरमा ल्याइराख्न र नियमित औषधिको प्रयोग गर्न आग्रह गर्नुभयो ।
यदि अस्पताल जान नसकिएमा पहिलेकै औषधि नियमित गर्ने वा फोनमार्फत नै डाक्टरसँग सुझाव लिएर औषधि खान भन्दै उहाँले अत्यावश्यक नभइ अस्पताल पनि नजान आग्रह गर्नुभयो ।
यस्तै कोरोना सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरु आफ्नै लागि हो भनेर प्रभावकारी बनाउन र पोषणयुक्त खानपानमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
नेपालमा यसअघि फैलिएका हैजालगायतका झाडापखालाको उपचार पद्धति सजिलो रहेको र त्यसबेला खुला चौरमा पनि उपचार गरिएको भन्दै उहाँले कोरोनाको उपचार पद्धति भने निकै संवेदनशील र खर्चिलो रहेको बताउनुभयो । निकै खर्चिलो परीक्षण र उपचार पद्धतिका कारण सकेसम्म आफूलाई कोरोना सङ्क्रमणबाट बचाउनु नै बुद्धिमानी हुने डाक्टर भट्टराईले बताउनुभयो । उज्यालो अनलाइन