प्रेम विश्वकर्मा, बाँके
प्रदेश ५ का बर्दिया र बाँके जिल्लामा चौपाया पशुपालन गर्न कम भएपछि प्राङ्गगारिक मलको उत्पादनमा कमी आएको छ ।
जसको विकल्पमा यी दुई जिल्लामा मात्रै वितेको दुई दशकमा करिब ४ अर्ब रुपैँया बराबरको ६१ हजार मेट्रिक टन रासायनिक मल खपत भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
एकातिर यसको प्रत्यक्ष असर माटोमा परेको छ भने अर्कोतिर रासायनिक मलको माग दिनहुँ बढेको बढ्यै छ ।
बर्दियाको गुलरिया नगरपालिका २ का मिथलेस यादवका गोठभरी गाई, भैसी, राँगा, गोरु हुन्थे । मिथलेस भन्नुहुन्छ, ‘पहिले २०-२५ वटा पालेको अहिले २ वटा पाल्न गाह्रो भइसक्यो ।’
मिथलेसले भन्नुभयो, ‘जतिपशु पाल्यो त्यति फाइदा छ, धेरै मान्छे पशु पाल्न छोडी सके । धेरै जग्गा छैन, घाँस, पराल, चराउनको लागी जंगल छैन, दुध, गोबर चाहिन्छ, गोबर मल नपुगेपछि खेतमा रासायनिक मल हाल्नु परिरहेको छ ।’
बाँके, बर्दियामा स्थानिय जातका गाईको महत्व निकै घटी सकेको छ । बगालका–बगाल पशुचौपायहरु पालेका किसान अहिले एक, दुईवटामा सिमित हुन पुगेका छन ।
मेशनरी सामाग्रीको उपयोग बढ्दो छ । युवा पुस्ताको पहिलो आकर्षण खेतीकिसानी भन्दा पनि टेबुलवर्क तिर बढी केन्द्रितहुदै गएको छ । पशुचौपायहरुको स्याहार–सुसार गर्नेको कमीभएपछि धेरै पशु पालन गर्न छोडिएको किसानहरु बताउँछन ।
बाँके खजुरा गाउँपालिका ८ ठाकुरपुरका ५४ बर्षिय चित्र प्रसाद दाहाल भन्नुहुन्छ, ‘जंगल छैन, गोबर फाल्ने, घाँस काट्ने काम गर्न छोराछोरीहरुले अप्ठेरो मान्छन । दुध खानालाई मात्रा दुईवटा जर्सी गाइपालेका छौं ।’
दाहालले पनि एक बिगाह जग्गामा गोबर मलले मात्र नपुगेपछि रासायनिक मल प्रयोग गर्नुहुन्छ ।
यसैगरी बाँकेको डुडुवा गाउँपालिका ४ का कादीर खानले पनि पहिलेको जस्तो पशु पाल्न अहिले नसकिएको बताउनुभयो ।
उहाँले पनि चरन क्षेत्रको अभाव, काम गर्ने मान्छेको कमी भएर पशु पालन कम गर्दै गएको बताउनुभयो । खानको गोठमा अहिले तीनवटा भैसी र दुईवटा गोरु मात्र छन ।
प्राङगारिक, गोठे मलका मुख्य स्रोत भनेकै पशु चौपाय हुन ।
यसै गरी कृषि बालीबाट निस्कने पराल, डाँठ, पातपतिङ्गर सडाएर पनि मल बनाउन सकिन्छ । तर सामुदायिक बनहरुबाट पनि पहिले जस्तो अहिले पातपतिङ्गर ल्याउन पार्इँदैन । पशुचौपाय चरनका लागी पनि रोक लगाईएको छ ।
यता किसानहरु उचित उत्प्रेरणा, चेतनाको अभाव आदिका कारण आफ्नै खेतबारीमा उपलब्ध हुने कृषि बालीबाट निस्कने पराल, डाँठ, पातपतिङ्गर जलाएरै खेर फाल्छन । गोबर मलका स्रोत भनेका पशु चौपाय नै नभएपछि किसानलाई खेतमा रासायनिक मल हाल्नुपर्ने बाध्यता छ ।
रासायनिक मलको विक्री
सरकारी अनुदानको मल किसानलाई कृषि सहकारी मार्फत वितरण गरिन्छ । बाँकेमा पनि कृषि सामाग्री कम्पनी लिमिटेडसँग आवद्ध १ सय २० वटा सहकारी छन ।
साल्ट टे«डिङ कर्पोरेशन लिमिटडले पनि ६६ वटा सहकारी मार्फत रासायनिक मल वितरण गर्छ । अभावका बेला यो बाहेक किसान आफै भारतका सिमावर्ति बजारमा पुगेर लुकी–छोपी रासायनिक मल ल्याउने गरेका छन ।
एग्रोभेटहरु पनि रासायनिक मल विक्री वितरण हुने ठाउँ हुन । यि सबै ठाउँको एकिन तथ्यांक कतै छैन । तर बाँके, सल्यान, रुकुम, जाजरकोट, दैलेख, जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा बिक्री क्षेत्र रहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय, नेपालगंजले १९ बर्षमा ६० हजार ७ सय १७ दशमलव ९५३ मेट्रिक रासायनिक मल बिक्री गरेको पाईएको छ ।
जसमा युरिया, डिएपि, कम्पलेक्स पोटास, एसल्फेट रहेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ५ करोड ८५ लाख ३३ हजार ८ सय ६० रुपैंयाको युरिया, ७ करोड ७८ लाख ७० हजार ६६ रुपैंया बराबरको डिएपि र १३ लाख १६ हजार ८ सय रुपैंयाको पोटास बिक्री भएको छ ।
अन्र्तराष्ट्रिय बजारको मूल्य र ढुवानी लागत अनुसार रासायनिक मल विक्री गरिने भएकाले १९ बर्षमा करिब ४ देखी ५ अर्ब रुपैंया बराबरको रासायनिक मल बिक्रि भएको छ ।
आर्थिक बर्ष २०५८-०५९ देखी आर्थिक बर्ष २०७६-०७७ सम्म
मल बिक्रीका लागी कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगंजले लिएको लक्ष्य र प्रगति यस्तो छ । हेर्नुहोस चार्ट टेवलमा :
माटोको अवस्था बिग्रीर्दै
माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेका कार्यालय प्रमुख तथा माटो विज्ञ परशुराम शर्माले माटोको अवस्था बिग्रीदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माटोको मुटु भनेको प्राङ्गारिक पदार्थ हो । तर पहाड, तराईको माटो परीक्षण गरेर हेर्दा न्युन पाईएको छ ।’
बिज्ञ शर्माले प्राङ्गारिक पदार्थलाई सुधार गर्न नसके माटोमा उत्पादन अहिलेको भन्दा एकदमै न्युन हुने बताउनुभयो ।
माटो भनेको जहिले पनि तटस्थ रहनुपर्छ । सामान्यतः खेतीबालीका लागी माटोको पीएच ६.५ देखी ७.५ को बीचमा हुनुपर्छ भन्ने मान्यता छ ।
माटोको पीएच ६.५ भन्दा तल झ¥यो भने अम्लियतिर जान्छ । ७.५ भन्दामाथी गयो भने त्यो क्षारियतिर जान्छ ।
माटोको परिक्षण रिपोर्ट अनुसार पहाडतिरको करिब ७० प्रतिशत माटो अम्लियतिर गएको छ । तराईतिरको ८० देखी ९० प्रतिशत माटो क्षारियतिर गइरहेको छ ।
पाल्पा र गुल्मी जिल्लामा माटोको परिक्षण गर्दा केही मध्यम देखिएपनि अवस्था भने सन्तोषजनक छैन । प्राङ्गारिक पदार्थ पहाडमा ४ देखी ५ प्रतिशतको बीच हुनुपर्नेमा अहिले २ देखी ३ प्रतिशतमा झरेको छ ।
तराई क्षेत्रमा अझ धेरै भयावह स्थिति छ । यहाँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा १.५ देखी २ प्रतिशत मात्र रहेको छ । माटोको अवस्था जस्तो हुनुपर्ने हो, त्यस्तो छैन ।
मलको बजेट
आर्थिक वर्ष २०७७-०७८ को लागि सरकारले रासायनिक मल अनुदानका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०७६-०७७ मा भने ९ अर्ब रुपैयाँ छुट्याइएको थियो ।
यो रकम मल खरिद विक्री लगायतका काममा खर्च गर्ने गरी कृषि सामाग्री कम्पनी लिमिटेडलाई ७० प्रतिशत र साल्ट टे«डिङ कर्पोरेशन लिमिटडलाई ३० प्रतिशत सरकारले दिने गरेको छ ।
नेपाल सरकारले आर्थिक बर्ष २०६५-०६६ देखी रासायनिक मलमा अनुदान दिन थालेको छ तर नेपालमा रासायनिक मल उत्पादन हुँदैन ।
त्यसकारण जीटू जी (गर्भरमेन्ट टू गर्भरमेन्ट) समझदारीमा भारत र ग्लोबल टेन्डर मार्फत तेस्रो मुलुकबाट आयात गरिने कृषि सामाग्री कम्पनी लिमीटेड शाखा कार्यालय नेपालगंजका कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।
कृषकको ज्ञान
धेरै उत्पादनका लागि रासायनिक मल र प्राङ्गगारिक पदार्थको मात्रा मिल्नुपर्छ । यसले माटोको उर्वराशक्ति जोगाउन मद्दत गर्नुका साथै आर्थिक भार पनि कम पर्छ ।
कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शकिल अहमद भन्नुहुन्छ, ‘कृषकहरुमा ज्ञानको कमी छैन, सरकारले जैविक मलमा ५० प्रतिशत अनुदान दिइरहेको छ ।’
तर आम कृषकको बुझाई र कार्यशैली फरक छ । पशुचौपाय पालन गर्ने, पातपतिङ्गर, डाँठ, पराल सडाएर मल बनाउने चलन हट्दै गएको छ । गोबर–जैबिक मल नभएपछि कृषकको खेतमा रासायनिक मल थुप्रिएकोे छ ।
आर्थिक बर्ष २०७५-०७६ मा ८४ हजार ५ सय ४८ मेट्रिक टन रासायनिक मल प्रदेश नम्बर ५ मा बिक्री भएको छ । जसमा प्रदेशको योगदान २४.२४ प्रतिशत रहेको कृषि विकास निर्देशनालयको तथ्यांक छ ।
प्रदेश ५ मा ८०.१७ प्रतिशत क्षेत्रफलमा खेती गरिन्छ । कृषि क्षेत्रलाई जीविकोपार्जनको आधार मानिए पनि मौलिक ज्ञान, व्यवसायिकरण, आधुनिकीकरण लगायतका बिषयमा भने तालमेल मिल्न सकेको छैन ।
कृषि ज्ञान केन्द्र बाँकेका योजना अधिकृत जीवन केसीले समग्रमा हेर्दा उत्पादन नघटेको बताउनुभयो । रासायनिक मलको प्रयोग क्षणिक फाइदाका लागि मात्र हुने भएकाले प्रत्यक्ष रुपमा असर नदेखिएता पनि अप्रत्यक्ष रुपमा असर पर्ने केसीको भनाई छ ।
कृषकले अग्र्यानिक (जैविक) उत्पादनका लागि तालिम लिएका छन । तर प्रमाणिकरण गर्न समस्या र जोखिम धेरै हुने भएकाले कृषकहरुको अग्र्यानिक (जैविक) उत्पादनमा आकार्षण कम भएको कृषि ज्ञान केन्द्र बाँकेका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी शकिल अहमदको भनाई छ ।
रासायनिक मलको तुलनामा प्राङ्गगरिक मलको प्रयोग गरि भएका कृषि उत्पादनहरु राम्रा हुन्छन । तर क्षणिक लाभले कृषकको ध्यान रासायनिक मलतर्फ बढी केन्द्रित भएको छ ।