शिक्षा प्रणालीमा विविधताको व्यवहारिक व्यवस्थापन कसरी गर्ने ?

  ।   २०८० श्रावण १९, शुक्रबार १५:२९


✍️किरण धिताल

केही समय अघि एकजना राजनीतिक अगुवाले बडो मार्मिक ढङ्गले एउटा विषयको उठान गरेका थिए । उनले भनेका थिए तामाङ भाषिक विद्यार्थी, पढाई हुने भाषा नेपाली , पढाउने शिक्षक मधेसी यस्तो तरिकाको शिक्षा प्रणालीले सिकाइलाई अपेक्षित उपब्धी हासिल गर्न सकिदैन भन्ने उनको निष्कर्ष थियो ।

अब चर्चा गरौं के हो त विविधता व्यवस्थापन :- विविधता व्यवस्थापन भनेको एउटा यस्तो स्वीकार योग्य वातावरणको सिर्जना गर्ने कार्य हो जहाँ सम्पुर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान र इज्जतका साथ व्यवहार गरिन्छ र विविधतालाई सहर्ष स्वीकार गरि महत्व दिइन्छ । आपसी सहयोग, सहकार्य, मेलमिलाप, सहमति र एकताबद्ध भइ लक्ष्य प्राप्तिका लागी सबैले आफ्नो भुमिका र उत्तरदायित्व निर्वाह गर्दछ्न । विद्यालयमा कुनैपनी प्रकारको पक्षपात, पुर्वाग्रही भावना, जातीय भेदभावलाई पुर्ण रुपमा हटाई विद्यार्थी, शिक्षक र कर्मचारी बिचमा रहेको लैङ्गिक, सास्कृतिक , भाषिक, धार्मिक, जातिगत, क्षेत्रगत  वर्गीय, उमेरगत , सिकाई क्षमतागत, बौद्धिक क्षमतागत विविधताको पुर्ण स्वीकार र सम्मान गरि तथा विविधतालाई महत्व दिई विद्यालयको निरन्तर विकासको लागि सबैको सहयोग र सहकार्यको साथ अघि बढनको लागि व्यवहारिक रुपमा विविधता व्यवस्थापन गर्नपर्ने आवश्यकता देखिन्छ ।

विश्वका विभिन्न देशहरुमा फरक – फरक जातजाति, भाषाभाषी, धर्म सस्कृती, मुल्य मान्यता, धनी गरिब, सामाजिक, राजनीतिक, भौगोलिक पेशा व्यवसाय भएका मानिस हुन्छन् । समाजमा बसोबास गर्ने सबै व्यक्तिको आत्मसम्मान गर्न, उत्थान गर्न, राज्यबाट वितरण गरिने स्रोत र साधनमा सबैको हक अधिकार सुनिश्चित गर्नका लागि विभिन्न किसिमको व्यवस्थापन गर्नु लोककल्याणकारी राज्यको उत्तरदायित्व हो । विश्वका धेरै जसो देशमा सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी पछि शिक्षालाई मानव अधिकारको विषयको रुपमा घोषणा गरियो । तर शिक्षामा गरिएको असमान स्रोत र साधनको वितरणले गर्दा केहि , व्यक्ति, समुदाय वा समुहले लाभ लिन पायो समाजमा अन्य जातजाति, भाषाभाषीका नागरिकहरु शैक्षिक अवसरबाट पछी पर्न गए ।

सन् १९५० को दशक पछि विश्वका हरेक लोककल्याणकारी राज्यले आफ्ना देशका नागरिकलाई सामाजिक आर्थिक तथा शैक्षिक क्षेत्रमा समान अवसर मात्र होइन समतामूलक प्रदान गर्न साधन र स्रोतले भ्यायसम्म विभिन्न उपायहरू अवलम्बन गरिरहेका छन् । नेपालको सन्दर्भमा हेर्दा केही महिना अघि राष्ट्रिय तथ्यांक कार्यलयले १४२ जातजाति, १२४ भाषा र १० भन्दा बढी धर्म रहेको सार्वजनिक गरेको छ । त्यसैले नेपाल बहुजाती  बहुभाषिक, बहुधार्मिक र बहुसास्कृतिक देशको रुपमा चिनिन्छ । नेपाली समाज बहुभाषा र सस्कृतिमा आधारित छ । कानुनको दृष्टिमा समानरहे पनि कार्यान्वयनमा भने केही कठिनाई रहेको छ । नेपालमा सबै पक्षको सन्तुलित र न्यायपुर्ण विकासको लागि देशको बहुसास्कृतिक शिक्षा, दर्शन र सिद्धान्तमा आधारित भएर निश्चित नीति तथा कार्यक्रमहरु लिएर योजनाबद्ध रुपमा अगाडी बढ्ने प्रयास गर्दा शिक्षामा सबैको पहुँच पुग्न सक्छ । राज्यले दिने अवसर वितरणमा व्यक्तिको सामाजिक तथा आर्थिक अवस्थालाई मुख्य केन्द्र बिन्दु बनाएर योजना निर्माण र कार्यक्रम लागु गरिनु उचित हुन्छ । यसबाट पनि शिक्षामा समानता सहित समतामूलक सिद्धान्तमा आधारित प्राकृतिक न्यायको सिद्धान्त अनुरुपको व्यवहार भएको महसुस हुन्छ । राज्यप्रतिको अपनत्व र देशभक्तिको  भावना जागृत हुन्छ । व्यक्ती आफू नेपाली भएकोमा गर्ब गर्दछ ।बहुसस्कृति त्यो समाज वा देशको सम्पत्ति हो ।विभिन्न जातजातिको रक्षा र सम्बर्द्धनका लागि शिक्षाको महत्त्वपूर्ण भुमिका रहन्छ । सबैको अस्तित्व बचाउँन तथा स्वाभिमानको रक्षा र समग्र विकासका लागि उपयुक्त वातावरण तयार गर्ने कार्य शिक्षाको सहायता बाट गर्न सकिन्छ । यसरी सबै पक्षसँग सहमति , सहकार्य र सहअस्तित्वबाट मात्र देश र आम नागरिकले अपेक्षा गरेको समृद्धि हासिल गर्न सकिन्छ ।

देशका सबै भाषाभाषिको विकास लिपिको संरक्षण, सस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्नका लागि विद्यालय शिक्षाको पाठ्यक्रममा समयानुकूल सुधार एवम् परिमार्जन जस्ता कार्यका लागि शिक्षामा विविधताको व्यवस्थापन गर्न आवश्यक छ । वर्तमान सन्दर्भमा विश्वमा दुई वा दुई भन्दा बढी भाषा, जाती, धर्म , सस्कृती, वर्ग, भएका देशहरुमा समयमा नै आफ्नो नागरिकको मनोभावना बुझ्न नसक्दा हिंसा, आपसी मन मुटाब, अविस्वास र अशान्तिको चक्रब्युमा देशहरू फसिरहेका छन् । विकास निर्माणमा बाधा उत्पन्न भएका छन् । निर्माण भएका भौतिक संरचना असुरक्षित भएका छन् ।भर्खरैमात्र भारतको मणिपुर, हरियाणामा साम्प्रदायिक युद्ध भड्किएको छ ।म्यानमारका रोहिङ्गिया मुसलमानले आफ्नो देश छोडेर बङ्गलादेशमा शरणार्थी जीवन विताइरहेका छन । २७ वर्ष देखि भुटानी शरणार्थीहरु अनागरिक भएर नेपाली भुमिमा आश्रय लिइरहेका छन् । भने कोहि तेस्रो देश पुनर्स्थापना भएका छ्न । राज्यको यस्तो व्यवहारबाट नागरिकमा शान्ति अमनचयन हुदैन । राज्यले अपेक्षा गरेको समृद्धिको लक्ष्य हासिल गर्न सकिदैन ।

विविधता व्यवस्थापनले सामाजिक, सास्कृती, आर्थिक, रहन सहन , भेषभुषा, जातजातिको परम्पराको रक्षा , स्वाभिमान र मर्यादालाई उच्च राख्न आपसी सदभाव र सहिष्णुता मजबुत राख्न सहज हुन पुग्छ । यस्का साथै आर्थिक र शैक्षिक विकासका दृष्टिले पछाडि परेका वर्गको पहुँच, पहिचान र प्रतिनिधित्व, सक्षमता, अस्तित्व, स्थायित्व अभिवृद्धि गर्न क्रियाकलापमा जोड दिने गर्दछ देश भित्रको आन्तरिक तथा राष्ट्रिय एकता कायम गर्नको लागि शिक्षामा सबैको पहुँच  सुनिश्चिततालाई व्यवहारिक बनाउनु पर्दछ । यसबाट आमनागरिकमा देशप्रतिको अपनत्व स्वीकार हुन्छ । देशको विकास र समृद्धिमा सबैको हातेमालो भइ राजनीतिक तथा प्रशासनिक संयन्त्र बलियो हुन्छ । सबै बालबालिकाको सकारात्मक चिन्तन, सीप  दक्षता, क्षमता, बानी व्यवहार र देश परिवर्तन गर्ने मुद्दा र जीवनशैलीमा आत्मसात सगै बलियो सहकार्य हुन्छ । यस प्रकारको चेतनाबाट मात्र अपनत्व, स्वीकार, जनसहभागिता, भाइचारा, बन्धुत्व तथा सहमति, सहकार्य, सहअस्तित्व मेलमिलाप र एकताको भावना जागृत हुन्छ । ( लेखक वरिष्ठ शिक्षकका रुपमा स्थापित हुनुहुन्छ) 

Next Post

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको ज्ञानेन्द्र मल्लको घोषणा

२०८० श्रावण १९, शुक्रबार १५:२९
संवाददाता, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्नुभएको हो । अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने समेत बताउनुभएको छ । पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बन्नुभएको थियो […]