पछिल्लो २४ घण्टामा देशभर १३ जनाको ज्यान गयो, १७ जना अझै बेपत्ता

  ।   २०७७ भाद्र ३, बुधबार २१:५९

काठमाण्डौ । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।

बाढी पहिरोमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन् । ३० वटा घर पूर्णरुपमा भत्किएका छन् । बाढी र पहिरोका कारण अछाममा ६, बझाङमा दुई, दैलेखमा दुई, बाजुरा दुई र सुर्खेतमा एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अछामको रामारोशन गाउँपालिका ५ मा बाढी पहिरोमा परेकामध्ये अहिलेसम्म ६ जनाको शव भेटिएको छ । हराइरहेका ११ जनाको खोजी बिहीबार बिहानदेखि फेरि सुरु गरिने गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिनुभयो ।

रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारको काम अघि बढाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापासँग बुधबार छलफल गर्नुभएको छ ।

यस्तै दैलेखका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा हराएका चारै जनाको परिचय खुलेको छ । नरहरिनाथ ५ का ५५ वर्षीय चन्द्र सहकारी, २७ वर्षीया चम्फा सहकारी, ३० वर्षीया झिमा सहकारी र १२ वर्षीय रमित सहकारी पहिरोमा परेर हराएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बझाङको बुङ्गल नगरपालिका ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ । यस्तै बाजुराको बुढीनन्दा नगरपालिका ६ मा पहिरोले घर भत्काउँदा ५५ वर्षीया भिनु ल्वार र खप्तड छेडेदह गाउँपालिका ५ की तीन वर्षीया सनीका बुढाको ज्यान गएको छ ।

बाढी पहिरोका कारण सुर्खेतमा पनि एक जनाको ज्यान गएको छ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग पनि बन्द भएका छन् । उज्यालो अनलाइन

Next Post

अध्यक्ष प्रचण्डद्वारा अछामका बाढी पीडितलाई उचित क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण

२०७७ भाद्र ३, बुधबार २१:५९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीले निम्याएको घटनाले आफूलाई स्तब्ध बनाको बताउनु भएको छ। मंगलवार राति परेको अविरल वर्षाका कारण कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको छन् भने दर्जनौं परिवार […]