नेपालगन्जको तापक्रम अहिलेसम्मकै उच्च मापन गर्दा ४४.२ डिग्री पुग्यो

  ।   २०८१ जेष्ठ १८, शुक्रबार १०:४५

नेपालगन्ज । अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिक्तम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिक्तम तापक्रम ४४ दशमलव २ सेल्सियस मापन भएको हो । उहाँका अनुसार बिहीबार साँझ ५ः४५ बजे लिइएको रिडिङमा उक्त तापक्रम मापन भएको हो । दिउँसो २ः४५ बजे लिइएको रिडिङमा नेपालगन्जको अधिक्तम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

नायब मौसम विज्ञान सहायक रानाका अनुसार बुधबार नेपालगन्जको अधिक्तम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस र मङ्गलबारको अधिक्तम तापक्रम ४१ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । दैनिकरुपमा नेपालगन्जको अधिक्तम तापक्रम बढ्दो क्रममा रहेको छ । यस अघि २०१९ मे २० तारिखका दिन नेपालगन्जको अधिक्तम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो भने २०५२ सालमा ४५ डिग्री मापन भएको थियो ।

अत्यधिक गर्मी र दिउँसोमा चल्ने तातो हावाका कारण नेपालगन्ज र आसपासका स्थानीय बासीन्दाको दैनिक जीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण दैनिक मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई बढी प्रभाव पारेको छ भने सर्वसाधारणहरु बिरामी हुने क्रम पनि बढ्दै गएको छ ।

अत्यधिक गर्मीका कारण नेपालगन्जलगायत बाँकेका अन्य स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । गर्मी तथा तातो हावाको लहरबाट बच्नका लागि चिकित्सकहरुले जरुरी काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कने, निस्किनै परेमा शरीर पूरै छोपिने कपडा लगाउने तथा पानी तथा तरलजन्य पदार्थको अत्यधिक सेवन गर्नका लागि सुझाव दिएका छन् ।

(गोरखापत्र अनलाइन बाट )

Next Post

४४ डिग्री नाघेपछि नेपालगन्जका विद्यालयको बिदा थपियो

२०८१ जेष्ठ १८, शुक्रबार १०:४५
नेपालगन्ज । नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ। गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको  नेपालगन्ज उपमहानगरले जनाएको छ। विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको […]