नेकपा विवाद समाधान : कार्यदलको बैठक बस्दै

  ।   २०७७ श्रावण ३२, आईतवार ०८:१२

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि शुक्रबार गठित कार्यदलको बैठक आज बस्दैछ। कार्यदलको पहिलो बैठक दिउँसो साढे १२ बजे आफ्नै निवासमा बस्ने महासचिव एवम् कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए।

उनले कार्यदलले पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू के हुन् ? आन्तरिक पार्टी एकता बलियो बनाउन के गर्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर कार्यदलले छलफल गर्ने बताए।पौडेलले भने, ‘अब पार्टी एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा कुनै दुविधा रहेन। नेकपाको विग्रहको चाहना राख्ने, त्यस्तो शक्ति तथा प्रवृत्तिहरूले अब आफ्नो धन्दा बन्द गरे हुन्छ। शक्ति तथा प्रवृतिहरुले अब आफ्नो धन्दा बन्द गरे हुन्छ।’

शुक्रबार पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो। बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन भएको थियो। कार्यदलका सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन्। कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ। कार्यदलले पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ।

प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार प्रशारित ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए। ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरेको भोलीपल्टबाट छलफल सकारात्मक दिशामा अगाडि बढेको छ। उनले सार्वजनिक गरेको त्यही प्रतिज्ञाअनुसार संकट समाधानका लागि निर्णायक पहल सुरु भएको हो। ओलीले पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको स्पष्ट पारेका थिए। (अन्नपूर्ण पोष्ट बाट)

Next Post

चितवनमा २८ जनालाई कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण ३२, आईतवार ०८:१२
चितवन । चितवनमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन । भरतपुर अस्पताल, […]