“मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन ।” खस–नेपाली भाषाका महाकवि लक्ष्मी प्रसाद देवकोटाकृत मुनामदन पढ्दा, सुन्दा जति प्रिय लाग्छ, यसले निर्माण गरेको भाष्य भने उतिकै डर लाग्दो छ ।
नेपाली समाजमा समानता र अवसरका कुरा गर्दा जातिले खास असर पर्दैन भन्छन्, भन्दै प्रतिस्पर्धाको परिभाषा गर्ने जमात ठुलो छ ।
त्यसैले होला, समाचारमा सुन्दा हिजो–आज जातको आधारमा हत्या, धारा छुँदा मान्छे कुटियो, काठमाडौँमा जातकै आधारमा कोठा भाडामा दिएन, मन्दिरमा घन्टी किन बजायो वा बजाएन, खाजा खाने बेला छोए भने साथीहरुले तँ एक्लै खा.. भनेर छोडे इत्यादी । caste doesn”t matter भनेको यही बुझिदो रहेछ ।
नेपाली समाजमा त्यसैले होला जातकै आधारमा मरिन्छ, घन्टी किन बजायो भनेर कुट्ने, बालबालिकाले आफ्नो साथीले छोएको खाजा सम्म पनि छुट्टै खा.. भनेर छोड्ने मानसिकताको अवस्थाले असर परेछ ।
पढेलेखेकै शिक्षकहरु, स्वास्थ्यकर्मीहरुले नै अन्धविस्वास पालेका छन । नेपाली समाज र संस्कार सापेक्ष ढंगले बद्लिएन । संविधान र कानूनले जातीय बिभेद हटाएको बर्सौ भयो ।
यद्धपी अन्तरजातीय, जातभित्रकै छुवाछुत, गाउँ देखि शहर, शिक्षित देखि अशिक्षित सबैको सोच र व्यवहारमा प्रस्ट छ । कानूनमा परिवर्तन आयो तर सोच परिवर्तन अझै आउन सकेन, र आएन ।
नेपालमा कानुनत : छुवाछुत प्रणालीको अन्त्य भइसकेको भएतापनि हाम्रो समाजमा अन्धविस्वास उस्तै कायम रहेको छ । सबै किसिमको जातीय भेदभाव उन्मुलनसम्बन्धि अन्तराष्ट्रिय महासन्धी १९६५ ले कानूनका सामु सबै जातजाति समान हुनेछन भनेको छ ।
नेपाल सन् १९७१ देखि नै यस अन्तराष्ट्रिय महासन्धी १९६५ को पक्षराष्ट्र भएको र उक्त महासन्धिको प्रावधानलाई नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ ले स्वीकार गरिसकेको छ ।
यस ऐनले दलित तथा बिभेदमा परेका सबै समुदायलाई जातिय छुवाछुत तथा भेदभावका विरूद्ध लड्ने एउटा गतिलो हतियार प्रदान गर्यो । जसमा २०५८ साउनमा सामाजिक रुपमा परम्परादेखि जातीय विभेद तथा छुवाछुत जस्तो अमानवीय व्यवहार अन्त्यको घोषणा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो ।
त्यसपछि २०६० सालमा जातीय विभेद छुवाछुतलाई सरकारवादी मुद्धा मानिने व्यवस्था गरियो । छुवाछुत तथा भेदभाव (कसुर सजाय) ऐन २०६८ र नेपालको संविधानले जातीय विभेदलाई जघन्य अपराधको रुपमामा परिभाषा गरेको छ ।
नेपालको सविधान २०७२ ले व्यवस्था गरे अनुसार भाग ३ मौलिक हक अन्र्तगत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ समानताको हकको ब्यवस्था छ ।
जसमा राज्यले सबै नागरिकहरूका बिच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन भनी प्रस्ट उल्लेख गरेको छ ।
धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक । जसमा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनी उल्लेख गरिएको छ । धारा २४ अन्तर्गतका अन्य उपधाराहरूमा पनि यो हकलाई पूर्ण समर्थन गर्दै अन्य व्यवस्थाहरू समेत गरिएको छ ।
यी बाहेकका अन्य मौलिक हकहरूले पनि केही न केही रूपमा जातीय विभेद तथा छुवाछुत विरुद्धको बारेमा बोलेका छन । तर जातकै आधारमा किन मान्छे मारीरहेका ? मरिरहेका छन ।
अहिले ठुल्ठुला कुरा गरेर देश समावेशी हुदैछ, सबैले समान अधिकार पाउँछन् भनेर भ्रम उत्पन्न गरिदै छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएता मात्र कालिकोट, दैलेख, रुकुम सहितका जिल्लामा जातीय विभेदकै कारण धेरै जना नेपाली मारिएका छन । श्रम चलेको छ, सिप चलेको छ, रगत पनि चल्छ, तर पानी चलेको छैन ।
परापूर्वकाल देखी नै आर्थिक शोषण र सामाजिक विभेद उस्तै छ । समाज गतिशील छ, बर्सौको तुलना गर्दा र, आजको तुलना गर्दा अवस्था फरक देखिन्छ । तर सामाजिक मानसिकता उस्तै । मानवले चन्द्रमा छोएको आधा शताब्दी बितिसक्दा पनि यो समाज र संस्कृति अझै पनि कर्म विज्ञानमा होइन भाग्य र ईश्वरीय चमत्कारमा बढी विस्वास गर्छ ।
छाउपढी गोठ भत्काऊदै गईन्छ तर पुन : बन्दै जान्छन । मान्छे भन्दा दर्शन पहिलो हो, मान्छेको भोगाई भन्दा दर्शन बीरहरुले लेखिदिएका कथा वास्तविक हुन् ।
हामीले वस्तु परिवर्तन गर्न तिर लाग्यौ, वास्तविकता बदल्न लागेनौं । हामीले चित्र बदल्न थाल्यौ तर चरित्र बद्लेनौ, जागिर गरेउ तर आफ्नो देशमा होइन । तर त्यो भौतिक डिग्रीले मान्छे चिन्दैन मानवता बुझ्दैन । पहिले मान्छे मानवता हो ।
त्यसपछि मात्र धर्महरु हुन् । सबै धर्म र ईश्वरले पनि मानवतालाई विभेद गर्नु हुदैन भनेको छ । तर यहाँ धर्म र ईश्वरको नाममा कयौं भम्रको खेती गरिन्छ । धर्म र ईश्वरका नाममा भ्रमको खेती गर्नेहरु गरिब वर्गका सबै भन्दा ठुला शत्रु हुन् ।
धर्म भन्दा माथि उठेर मानवता छ । एउटा पक्षले भन्छ, धर्म होइन मानसिकता परिवर्तन गरांै । मपाँई गर्न छोडौं । म अर्कोभन्दा श्रेष्ठ मानव हुँ भन्ने सोच ।अरु धर्म बाहुल्य क्षेत्रमा छैन र ? फरक त्यति हो कुनै धर्ममा जन्मका आधारमा, कुनै छालाको रङ्गका आधारमा, त कहिँ लिङ्गका आधारमा विभेद कायम छ ।
धर्म र कानून नियम मात्र हुन्छ । केन्द्रिय तत्व मान्छे नै हो भनरे नबुझेसम्म स्वरुप बदलिन्छ । तर शोषण बदलिदैन । कसुरकर बदल्न लागौं । यथार्थमा बाँच्न सिकौ । दलित (जात) समस्या, दलित समुदायको मात्र होइन । यसको दायित्व राज्यले लिनु पर्छ ।
सामाजिक बिभेद, अपराधलाई बलिया निर्धा संँग, जात–धर्म, समुदाय लिङ्ग जोड्न नपरोस । सकेसम्म समाज नै विभेद मुक्त, अपराधमुक्त होस्, महिला भएकै कारणले तेजाब फालिएको हो ।
त्यो लैंगिक हिंसा हो भने दलित भएकै कारणले मारिनु जातिय हिंसा हो । दुवै दण्डनीय अपराध हुन । आफु बदलियौं र अरुलाई पनि बदलौं । यसैमा सबैको भलो हुनेछ । सबै नेपालीको जय होस ।।
लेखक काठमाडौं स्कुल अफ ल मा बीए.एलएलबी. तेस्रो बर्षमा अध्ययरत हुनुहुन्छ ।