संघीय संसद्को दशौं अधिवेशन आजदेखि सुरु हुँदै

  ।   २०७८ भाद्र २३, बुधबार ०६:२७


काठमाडौं । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको छ ।

यसपटक संघीय संसद्मा मा नेकपा (एमाले) विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी गरी दुई दल थपिने भएका छन् । संसद्मा दुई दल थपिने तथा सत्तापक्ष र प्रतिपक्षको गणित पनि फेरिएको परिस्थितिमा संघीय संसद् सचिवालयले नयाँ दलसहितलाई समेटेर सिटको व्यवस्थापन मिलाइसकिएको जानकारी गराएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलको लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । सबै दलका नेताहरु अगाडि रहनेगरी र अन्य सदस्यहरु क्रमशः पछाडि रहनेगरी दूरी कायम गरेर सिटको व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभामा सभामुखको दायाँ साइडतर्फ सत्तापक्ष र बाँया साइडतर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ । सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने उहाँले उल्लेख गर्नुभयो । यसो गर्दा सत्ता पक्षतर्फ दायाँ तर्फबाट क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् । त्यसैगरी प्रतिपक्षतर्फ भने क्रमशः नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी सिटको व्यवस्थापन मिलाइएको छ । स्वतन्त्र सांसद लगायत साना दलका सांसदहरुलाई भने बीचमा सिटको व्यवस्थापन गरिएको छ ।

त्यसैगरी राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बाँयातर्फ प्रतिपक्ष रहनेगरी व्यवस्था मिलाइएको छ। सत्तापक्षतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी रहने छन् भने प्रतिपक्षतर्फ नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी रहनेगरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मनोनीत सांसदहरु सदाझैँ मन्त्री रहने सिटभन्दा पछाडि रहने र स्वतन्त्र सांसद प्रमुख प्रतिपक्षीको दायातर्फ, सत्तापक्ष नेकपा (एकीकृत समाजवादी) भन्दा ठीक पछाडि रहने गरी व्यवस्थापन गरिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

आज बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने उहाँले बताउनुभयो । त्यसको अलावा शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो । आज प्रतिनिधि सभाको पहिलो बैठकमा नागरिकतासम्बन्धी अध्यादेश पेस हुने छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश’ पेस गर्ने भएका हुन् । सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश संसद्मा पेस गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश पनि पेस हुने भएको छ ।

यसैगरी, तेजाब तथा अन्य रासायनिक पदार्थ (नियमन) अध्यादेश पनि बैठकमा पेस गरिने भएको छ । आर्थिक, राष्ट्र ऋण उठाउने लगायतका अध्यादेश पनि आजको बैठकमा प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।

Next Post

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो

२०७८ भाद्र २३, बुधबार ०६:२७
एजेन्सी । युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत […]