स्याबास प्रचण्ड सरकार, भ्रस्टचारीहरुलाई यसरी नै खोरमा हाल्नु पर्छ

  ।   २०८० श्रावण ४, बिहीबार १४:१२

सविता चन्द
नरेन्द्र प्रसाद पाण्डे (जेम्स) नेकपा माओवादी केन्द्रका बाँके जिल्ला संयोजक हुनुहुन्छ । पार्टीलाई केन्द्रविन्दु बनाएर यतिखेर बाँके जिल्ला भित्र विभिन्न कार्यक्रम भैरहेका छन् । संयोजक पाण्डे हक्की स्वभावका एक निडर कमान्डर भएकोले होला बोल्दा पनि सिधै बोल्ने गर्नु हुन्छ । संयोजक पाण्डेलाई चौका पन्जा गर्न आउदैन । उहाँको बानी र व्यबहार निकै खरोछ । यसै क्रममा गुडन्युजखबर डटकमका तर्फबाट उहाँसँग मैले गरेका कुराकानीका अंशहरु तपसिलमा उल्लेख गरेको छु ।

प्रधानमन्त्रीको राजीनामा एमालेले किन मागेको होला ?

यो खासगरी प्रतिपक्ष पार्टी एमालेले राजीनामा माग्नु उसको धर्म हो । प्रतिपक्षको हिसाबले मागे पनि एमालेले माग्नु हुन्थेन । सरकारले राम्रो काम गरिएको बेला प्रचण्ड सरकारलाई काम गर्न दिनुपर्थ्यो । तर एउटा उखान छ नि ´काम नपाए पछि कनिका बुकाउने` हो, त्यस्तै एमालेको अहिलेको बिरोध हो ।

राजीनामा दिनुहोस् भनेर संसद अबरुद्ध नै भयो ?

एमालेले राजीनामा दिनुस अथवा अरु कोहि ए बि सि डी पार्टीले राजीनामा दिनुहोस् भन्दैमा राजीनामा दिइहाल्ने बिषय होइन। यो कुरा त गठबन्धनले भन्नु पर्‍यो नि । प्रचण्ड सरकार बहुमतको सरकार हो नि । जसले राजिनामा माग गरेको हो उसले आफ्नो बहुमत देखाए भैहाल्यो त किन राजीनामा माग्न पर्‍यो।

तपाईंको अध्यक्षले जुन कुरा बोल्नु भयो नि ? त्यो कुरालाई लिएर त देशैभरी आलोचना भयो नि ?

त्यो बिगतको कुरा हो। बिगतमा भएको एउटा पुरानो पारिवारिक कुरा गर्ने प्रसङ्गमा जोडिएको मात्र हो । त्यसलाई एमालेले तिलको पहाड बनायो । एमाले, राप्रपा लगायतका केही पार्टीहरुले तिलको पहाड बनाउन खोजिएको मात्र हो खासै अरु केही पनि हैन । अहिले यिनीहरुलाई जलन भएको छ। सरकारले जुन लोकप्रिय काम गर्दै गइरहेको छ। त्यसको सहिय हुन नसकेको हो । सयौ बर्षदेखि देशलाई लुट्दै आएका, बरम्म लुट मच्चाउदै  आएकाहरुका विरुद्धमा सरकारले जुन नयाँ युद्धको सुरुवात गर्‍यो त्यसैको छटपटाहट हो ।

कुन कुरालाई जलन मान्ने ?

उनीहरुले लुटिराखेका थिए । आफ्नो स्वार्थ पुर्ती गर्न पाईहेका छैनन् । अहिले यो देशको पक्षमा, रास्ट्रको पक्षमा, जनताको पक्षमा,  स्वतन्त्रताको पक्षमा, जुन प्रकारको प्रचण्ड सरकारले काम गरिरहेको छ। यो देखेर हामी माइनस हुने भयौं, अब हाम्रो खएर छैन । यो माओवादी पार्टीको नेतृत्वमा अहिले यो गठबन्धन सरकार छ । यसले अपनत्व लिने भो, यसले पुरै बजार लिने भो भन्ने डरले उनिहरु मा छट्पटी छ। यो नै जलनको मुख्य बिषय हो।

भने पछि जलाउनलाई  मात्र यस्तो काम भएको हो त ?

यिनीहरुले साच्चिकै देशको माया मानेकै हुन भने एमाले राप्रपा लगायतका कुनै पनि दलहरुले प्रचण्ड सरकारलाई समर्थन गर्नु पर्छ ।  भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचारीलाई जेलमा कोच्ने हो भने, अपराधीलाई सजाय दिन जेलचालन गर्ने नै हो भने अहिलेको सरकारले गरेको यस्तो पवित्र महा अभियानमा सहभागी भएर सरकारका राम्रो कामको समर्थन र नराम्रा कामको आलोचना गर्न सक्नु पर्थ्यो ।

होइन, के प्रधानमन्त्रीले बोल्नु भएको कुरा सहि नै हो त ? यसरी बोलेकै आधारलाई लिएर प्रधानमन्त्रीलाई गालिको गरिएको मान्न सकियो ?

राष्ट्रियता र देशको स्वतन्त्रताको सम्बन्धमा एमाले राप्रपाले माओवादी पार्टीलाई सिकाउन पर्दैन। यसमा माओवादी धेरै अब्बल छ । उहाँहरुले गरेका कर्तुत सरकारले बाहिर ल्याउन खोज्दा यतिका बखेडा झिकिएको कुरा अत्रतत्र सर्वत्र थाहा छदैछ त । किन भुक्न पर्‍यो र ?

विपक्षीहरुले औला उठाई सके नि, प्रधानमन्त्री संकटमा परिसक्नु भो ?

चाहे औंला उठाउन, चाहे टाउको फुटाउन, कुनै फरक पर्दैन, मुख्य कुरा के हो भने ? हिजो यो देशको लागि सुरुङ युद्धको सुरु गर्ने भनेको माओवादी पाटी नै हो । राष्ट्र र राष्ट्रियताका सवालमा बढी त्याग तपस्या गरेको माओवादी पार्टी नै हो।अनि के माओवादी पार्टीले देशको हित बिपरित काम गर्न सक्छ ? कदापि गर्न सक्दैन । हजारौं कार्यकर्ताको त्याग तपस्या बलिदानबाट यो राष्ट्र निर्माणको लागि धेरै कुर्वानी गरिएको छ । राष्ट्र र राष्ट्रियताको लागि यिनीहरूले एकदिन नारा लाउदैँमा, एक दिन सिमानाका जाँदैमा, एक दिन भ्रष्टाचारका कुरा गर्दैमा, हुने भएत पहिलै गरिसक्थे नि ? यिनीहरू नक्कली राष्ट्रवादीहरु हुन् । नक्कलीहरुले सबै बिषय बस्तु उठाउछन, आफ्नो स्वार्थ पूरा भएपछि छोड्छन ।  ती नक्कली आवाजहरु हुन् । रियल त गरेर देखाउन पर्‍यो नि।एमाले अध्यक्ष केपी ´बा` इतिहासमा सब भन्दा शक्तिशाली प्रधानमन्त्री हुनु भएको होइन र ? खोइत उहाँका पालामा भ्रष्टाचारी समातिएका ? बरु अझ्  भ्रष्टाचारिहरु, कमिसन खोरहरुलाई संरक्षण पो गर्नु भो त ? दुई तिहाई बहुमतको सरकार थियो। अनि त्यो बेलामा माखो मार्न नसक्ने अहिले आएर अध्यक्ष कम्रेड प्रचण्डको नेतृत्वको सरकार जसले देशमा सरकार छ है भन्ने देखाएको छ । उसैलाई असफल बनाउन खोज्नु यो सरासर नक्कली राष्ट्रवाद हो । म के आग्रह गर्न चाहान्छु भने, तपाईहरु सरकारले गरेका काम देखेर पागल नहुनुस, नजल्नको लागि पुनः आग्रह गर्दछु । यदि एमाले राप्रपा लगायतका पार्टीहरु जसले बिरोधको लागि बिरोध गर्नुहुन्छ भने त मेरो भन्नु केही छैन नत्र अहिलेको यो अभियानलाई सबैले साथ दिनुपर्छ । राम्रो कामको लागि त  सबैले साथ दिएर लाग्यो भने मात्र देश बन्छ ।

सम्योजक ज्यु, जबसम्म प्रधानमन्त्रीको राजीनामा बाहिर आउँदैन तब सम्म सम्सद चल्न दिदैनौँ भनिरहेका छन् नि ?

त्यो उहाँहरुको भन्ने कुरा मात्र हो। गरेर देखाउन न त कसले के गर्दोरहेछ हामी पनि हेरौं । गफ मात्र हो । अहिले सरकारको असल कामको बिरोध गरे जनताले ठिक पार्छन् ।

एकदम कस्सिनु भएको छ प्रधानमन्त्री त्यसो भए है ?

जबसम्म गठबन्धन एकठाउँमा एकतामा हुन्छ तबसम्म केही पनि हुँदैन । राजीनामा दिन नपर्ने कुरा बाहिर आएसक्यो, राजीनामा के का लागि दिने ? के कामका लागि दिने राजीनामा ? यो देशमा भ्रष्टचारीलाई खोरमा हालेको कारणले राजीनामा दिनुपर्ने ? जसले देशलाई सयौं बर्ष देखि ठग्ने लुटेराहरुलाई जेलमा हालेको र पक्राउ पुर्जि जारी गरेको कारण राजीनामा दिने ?

भने पछि प्रधानमन्त्रीले बोलेका कुराहरु सबै सहि छन् ?

सहि र गलत कुन प्रसंगमा बोलेको हो खोज्न पर्‍यो नि ? सहि गलत कसले गर्‍यो भनेर मैले न्याय गर्ने होइन ।आज भन्दा ८,९ बर्ष अगाडिको प्रसंगलाई कोट्याएर  गरेको  कुरोलाई बंग्याएर राष्ट्रहित बोल्नु भो प्रधानमन्त्रीले भनेर गरेको बिरोध हलो बनाएर गोरु चुट्ने उखान जस्तो भयो । कुनै पनि विरोधको एजेण्डा नपाएपछि गरिएको विरोधका लागि विरोध मात्र हो । सरकारले राम्रो कामगरेको हुनाले लोकप्रियता ह्वात्तै बढेको छ । जनतालाई हामी कानुनी राज्यमा बसेका छौँ भन्ने महसुस भएको छ । देशमा कानुन छ है ? यो देशमा न्याय छ है ? भन्ने कुराहरूको अनुभुती भएको बेलामा उनीहरु सरकार ढालेर आफ्नो पार्टीको सरकार बनाएर स्वार्थ लुट्न चाहन्छन् । एमाले भन्ने पार्टी बिचौलीया पार्टी हो ।

भने पछि अब पार्टीले कसरी प्रतिवाद गर्छ त ?

हाम्रो पार्टीले प्रतिवाद गरिरहेको छ । हाम्रो पार्टी जनयुद्धको सुरुवात देखि अहिलेसम्म अत्याचार दमन बिकृती विसंगति, भ्रष्टाचारका विरुद्धमा आवाज उठाएको पार्टी हो । यही एजेण्डा स्थापना गर्न हाम्रो पार्टीले बलिदान गरेको हो । हजारौं कार्यकर्ताहरुले, हजारौं जनसमुदायहरुले, हजारौं नेता कमाण्डरहरुले, हजारौं लाल योद्धा हरुले योगदान गरिसकेका छन् । र त्यस्तैको निरन्तरता हो यो । युद्धका रुपहरु धेरै हुन्छन् । एउटै हुदैनन् । यो पनि एउटा युद्धको रुप हो। त्यस्तै भ्रष्टाचार न्यूनीकरण गर्नु अर्को युद्धको रुप हो । यस्ता कामहरू जनताका पक्षमा यो सरकारले अगाडि बढाउन सक्नुपर्छ । हाम्रो पार्टीले के भन्छ भने, अब राजदरबार हत्याकान्डको पनि छानबिन गरिनुपर्छ ।

राज दरबार हत्यकाण्डमा पनि सरकारले हात हाल्छ  ?

हो नि राजा बिरेन्द्रको बंश नास नै भो, यसलाई हत्या न भनेर के भन्ने त ? राज ज्ञानेन्द्रको परिवारमा भने कुनै पनि क्षती नहुनु, यसलाई कसरी लिने ? जनतासँग धेरै प्रश्न छन् ।

भ्रष्टाचारको पक्षमा हामी छौ भनेर धेरै दलहरु उफ्रिरहेका छन नि ?

भ्रष्टाचारको विपक्षमा छौँं भनेर मात्र हुदैन फिल्डमा हुन पर्‍यो । ब्यवहारमा हुन पर्‍यो । चर्काचर्चा कुरा गरेर मात्र हुँदैन सरकारले जुन स्टेप चालेको छ, त्यो स्टेपमा होस्टेमा हैसेँ गर्न पर्‍यो, साथ दिन पर्‍यो, सपोट गर्न पर्‍यो सुझाव दिन पर्‍यो । यो सरकारले हिम्मत गरेको हो नि ? आजसम्म कसैले हिम्मत गरेको थियो । कायरहरुले कहिले पनि हिम्मत गर्न सक्दैनन, बहादुरहरुले मात्र यस्ता काम गर्ने हो । अहिलेको सरकार बहादुर सरकार हो । बहादुरको बहादुरले नेतृत्व गरेको सरकार हो, यो ।

भने पछि तपाईंको पार्टी अगाडि बढ्ने लक्षमा छ ? २०८४ मा बहुमत ल्याउन लाई अहिले नै तयारी गर्दै  हो ?

हार्ने जित्ने कुरा सहायक कुरा हो । यस्ता कुरामा अहिले हाम्रो ध्यान गएको छैन । मुल नीति नियम, कानुन कार्यक्रम पोलिसी के हो ? भन्ने कुरा नै मुख्य कुरा हो । त्यो त चुनावी मैदानमा जाँदा खेरी ६४ मा ठूलो पार्टी भयौं, ७० मा तेर्सो पार्टी भयौं, अहिले सम्म तेर्सो पार्टी मै छौँ । तर मुल एजेण्डा जनपक्षीय छ कि छैन भन्ने नै हो । यो पार्टीको विधि बिधानले के भनेको छ ? कार्यक्रम के हो ? लक्ष के हो उ? देश्य के हो ? कार्यनिती र रणनीति के के हुन् भन्ने कुरा मुख्य कुरा हो ।

पुराना पार्टीलाई च्यालेन्ज गर्न जुन नयाँ पार्टी नयाँ तरिकाले आइरहेका छन्, त्यस्को जुन मनोभावना छ त्यो पुराना पार्टीले क्याच गर्न सकिरहेका छैनन् भन्ने भनाई छ नि बाहिर ?

यो कुरा अलि सोचनिय छ । अब हाम्रो पार्टी लगायत केही पुराना पार्टीहरु खास कांग्रेस, एमालेले सोच्न जरुरी छ यसमा । साना पार्टीहरु अहिले नयाँ ढंगले आइरहेका छन्, उनीहरुका बारेमा पनि राम्रोसँग बुझ्नको लागि बुद्धिजीवी, युवाहरू, आम शिक्षक कर्मचारीहरु र सचेत नागरिकहरूलाई म के भन्न चाहान्छु भने सहिढंगले अध्यन, मुल्यांकन गर्नका लागि म आग्रह गर्न चाहान्छु । तर यसमा कुनै पनि कुरा उठाउदैमा राप्रपा पार्टीले भ्रष्टाचारको कुरा उठाको होइन, रबि लामिछानेले भ्रष्टाचारको एजेन्डालाई पूरा उठाउनु भएको खोइ त ? अहिले माओवादी पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा जो सरकार गठन भएको छ । लामिछाने बाहिरिनु भो तर यदि साच्चै नै उहाँ एउटा भ्रष्टाचारी बिरोधि हो, भने भ्रष्टाचारीहरुलाई निस्तेज नै गर्न चाहानु हुन्छ भने, उहाँहरु अभियानमा सहभागी भएको खै त ? उल्टो एमालेको पिछलङ्गु बनेर अझ केपीको पुच्छर बनेर सरकार ढाल्ने मुडमा हुनुहुन्छ। यो कुरा त अब जन्ताले बिस्तारै बुझ्दै जालान । काम गरे नगरेको हामीले नि सुन्न पाउँछौ, हेर्दै जाउला । अब यस बिचमा मान्छेहरू ले के गर्छन, उहाँहरु साच्चै विरोधी हो कि होइन ? भन्ने कुरा देखि हालियो नि ? भ्रष्टाचारको पक्षपोषण गर्ने दलालहरुको बिकबिकी छ । यसका विरोधी को को हुन्, को को होइनन् उनीहरुका अभियानबाटै थाहा हुन्छ। फिल्डमा आउन पर्‍यो निस्वार्थ भएर, यदि निस्वार्थ ढंगबाट यो अभियानमा लाग्ने हो भने अझै पनि केही बिग्रेको छैन । सस्तो एउटा एजेन्डा बोकेर हामी गर्छौ भनेर केहि हुने वाला छैन। यी खहरे खोलाहरु हुन। बर्खे झरीमा आउछन् भने हिउँदमा सुकेर जान्छन् ।

प्रधानमन्त्रीले जुन कदम चाल्नु भएको छ। त्यसको आधारमा यो सरकार ५ बर्षसम्म टिक्छ त ?

यसमा अंकगणित नै महत्त्वपूर्ण हुन्छ । अर्को कुरा कमरेड प्रचण्ड जस्तो इमानदार नेता कहिँ छैन । त्यसैले अहिलै सरकार ढल्दैन । कसैलाई लाग्या छ भने सरकार ढालेर देखाए भैगो त । छ कसैको ताकत ? काममा आफुलाई स्थापित गरिसकेको मान्छेलाई सहयोग गर्न छोडेर कसलाई बनाउछन त प्रधानमन्त्री ? अझ तपाईंको सकारात्मक सुझाव दिदै धन्यवाद, बधाई, नेपाल सरकारका प्रधानमन्त्री प्रचण्ड भन्ने बेलामा कसले समर्थन फिर्ता लिन्छ हेरौन ?  सरकार ढाल्ने अब कसैले हिम्मत नै पर्दैन, ढाले भने ती आफै ढल्छन ।

अन्तमा तपाईं आफ्ना कर्याकर्ता र पाठकलाई के भन्न चाहानु हुन्छ ?

हामी जो, नेपाल सरकारले अथवा हाम्रो पार्टीका अध्यक्षको नेतृत्वमा जुन अभियान सुरु भैरहेको छ । सरकारका लोकप्रिय कामको प्रचार गर्ने र भ्रष्टाचारीहरुका विरुद्धमा टोलसभा जस्ता कार्यक्रम गर्न बैठक पनि बसेका छौं। यी कार्यहरुमा ससक्त लाग्ने जस्ता योजनामा निरन्तर लाग्नाका लागि र राम्रा कुराको समर्थन र गलत कुराहरूको विरोध गर्न आग्रह गर्छु ।

Next Post

एक सय नर्सलाई बेलायत पठाउन श्रम मन्त्रालयले माग्यो आवेदन

२०८० श्रावण ४, बिहीबार १४:१२
संवाददाता । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘पाइलट प्रोग्राम’ को रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै […]