नेपालको तेस्रो नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

  ।   २०७९ फाल्गुन २५, बिहीबार १७:०९

संवाददाता  ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो ।

उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत उहाँले पाउनुभएको हो । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत परेको छ ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो । उहाँले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाउनुभएको छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् ।

नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी हुनुभएन । कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् ।

मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् । प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे ।

राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

अनलाइन खबर डटकमबाट

Next Post

प्रचण्डविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएल बाँकेले बुझायो ज्ञापनपत्र

२०७९ फाल्गुन २५, बिहीबार १७:०९
नेपालगन्ज । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो । सङ्गठनका बाँके  जिल्ला इन्चार्ज  किस्मत अलिशेष,  जिल्ला संयोजक आकाश कार्की […]