संवाददाता ।
दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बन्नुभएको छ ।
“छोरी, मलाई हेर – मसँग हात नभए पनि म चाहिँ छिटो पौडिन सक्छु !“ एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भन्नुभएको छ ।
बाल्यकालमा करेन्ट लागेर दुवै हात गुमाउनुभएका जेङले फ्रीस्टाइल, ब्याकस्ट्रोक र बटरफ्लाई स्पर्धामा कीर्तिमान भङ्ग गर्दै स्वर्ण जित्नुभएको हो ।
उहाँले सबै एकल प्रतिस्पर्धामा विश्व वा पाराओलिम्पिक्स कीर्तिमान भङ्ग गर्नुभएको छ । बुधवार उहाँले ५० मिटर फ्रिस्टाइलमा पाराओलिम्पिक्स कीर्तिमानसाथ जितेको पदकको भने चिनियाँ सामाजिक सञ्जालमा धेरै चर्चा भएको छ ।
सो पदक चीनले सन् १९८४ मा भाग दिन थालेदेखि पाराओलिम्पिक्समा जितेको ५०० औँ स्वर्ण पदक हो ।