नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

  ।   २०७८ भाद्र ६, आईतवार ०७:१५
नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

काठमाडौं । माधवकुमार नेपालकाे साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गर्नुभएको छ ।

स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गर्नुभएको हो । तर, अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सकिने भए पनि १४ सांसदमाथि गरिएको कारबाही फिर्ता नहुने जवाफ फर्किनु भएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी एमालेका नेतृ अष्टलक्ष्मी शाक्यले १० बुँदे सहमति कार्यान्वयन गर्दै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टी एकता बचाउनुपर्छ, अब अध्यक्ष ओलीले ढिला गर्नुहुँदैन ।’ उहाँले गणतन्त्र र लोकतन्त्र बचाउनका लागि पनि पार्टी एकता जोगाउनुको अर्को विकल्प नभएको बताउनुभयो ।

पार्टी विभाजित भएर नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा प्रक्रिया अगाडि बढिसक्दा पनि यसअघि नेपाल समूहमा रहेका नौंजना स्थायी कमिटीका सदस्यहरूले पार्टी एकता जोगाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिइरहेका छन् ।

अध्यक्ष ओली र नेता नेपालबीचको विवाद वारपार भए पनि नेपाल समूहमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत कुमार बोहोरा, रघुजी पन्तलगायतका दोस्रो धारका नेताहरूको भने पार्टी एकता जोगाउन दौडधुप जारी नै छ । नेपाल समाचार पत्र

Next Post

अफगानिस्तानमा महिला खेलाडी असुरक्षित, फिफाद्धारा जीवन रक्षाको माग

२०७८ भाद्र ६, आईतवार ०७:१५
एजेन्सी । विश्व फुटबल महासंघ फिफाले अफ्गानिस्तानमा रहेका महिला खेलाडीहरुको जीवन रक्षा गर्न विश्व समुदायसँग अपिल गरेको छ । फिफाले विश्वका विभिन्न शक्तिशाली मुलुकहरुलाई पत्र लेख्दै अफ्गानिस्तानमा रहेका महिला फुटबल खेलाडीहरुलाई त्यहाँबाट बाहिर निकाल्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । व्यवसायीक खेलाडीहरुको संस्था फिफ्प्रोले पनि सहयोगका लागि अनुरोध गरेको छ […]