राप्ती सोनारी टुक्रिने हो त ?

खजुरा नगरपालिका हुने

  ।   २०७८ आश्विन ४, सोमबार १८:३५

  • खजुरा गाउँपालिका नगरपालिका र राप्तीसोनारी गाउँपालिका राप्ती र सोनारी दुई पालिका बन्ने राजपत्रमा उल्लेख छ ।

संवाददाता, नेपालगन्ज

‘अबको स्थानीय चुनावमा बाँकेमा १ वटा गाउँपालिका थप र खजुरा नगरपालिकामा स्तरोन्नती । नयाँ संरचना अनुसार चुनावी तयारी थालौं’, सुशासन विज्ञ मीनबहादुर मल्लले १७ भदौमा फेसबुकमा लेखेको स्टाटसले बाँकेवासीलाई तरंगित बनायो ।

राजपत्रको फोटोसहितको उहाँको स्टाटस शेयर र कमेन्ट गर्ने हाराहारी भए । मल्लले हचुवाका भरमा कुरा गर्नुभएको होइन । संघीय सरकारको राजपत्रमा प्रकाशित भएको राजपत्रको फोटोसहित कार्यान्वयन हुने कुरा गर्नुभएको छ ।

‘चुनाव घोषणा भइसकेकोले कार्यान्वयन भएन । जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा कार्यान्वयन हुने कुरै भएन । अब चुनाव चैत्रमा हुन्छ त्यतिखेर नै कार्यान्वयन हुन्छ’, उहाँले गुडन्यूजसँगको टेलिफोन सम्पर्कमा प्रष्ट पार्नुृभयोे, ‘यही राजपत्रका आधारमा प्रदेश २ मा कार्यान्वयन भयो । अन्य प्रदेशमा निर्वाचन भएकाले सर्वोच्चले कार्यान्वयन नगर्न भनेको थियो । यसको अर्थ आगामी निर्वाचनमा यो स्वतः कार्यान्वयन हुने भन्ने हो । एउटै निर्णय कुनै प्रदेशमा हुने र कुनैमा नहुने भन्ने त हुन्न होला नि ?’

बाँकेमा खजुरा गाउँपालिकालाई नगरपालिका स्तरोन्नती र राप्ती सोनारीलाई राप्ती र सोनारी दुई पालिका बनाउने कुरा ११ जेठ २०७४ मा नेपाल सरकारको राजपत्रमा उल्लेख छ ।

नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको उल्लेख छ ।

यसबारे २७ वैशाख ०७४ को मन्त्रिपरिषद्को निर्णय गरेको थियो । सम्पूर्ण प्रक्रिया पूरा भएकाले अब कार्यान्वयन गर्न मात्र बाँकी छ । गाउँपालिका र नगरपालिकाको निर्वाचन सम्पन्न भएपछि सम्बन्धित गाउँसभा वा नगरसभाले निर्णय गरे बमोजिम हुने गरी हाललाई थप भएका, हेरफर भएका तथा स्तरोन्नती भएका एकाइहरुको केन्द्र कायम गरेको राजपत्रमा उल्लेख छ ।

यो खबरबाट खजुरा र राप्तीसोनारीका जनप्रतिनिधिहरु उत्साही भएका छन् । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति आगामी निर्वाचनमा कार्यान्वयन हुने भनिरहनुभएको छ ।

राप्तीसोनारीका अध्यक्ष लाहुराम थारु पनि कार्यान्वयन हुँदा आफूलाई कुनै फरक नपर्ने बताउँनुहुन्छ । ‘हाम्रो गाउँसभामा पनि यो विषयमा छलफल भएको थियो । केही वडा अध्यक्षले सभाबाट निर्णय गरौं भनेर प्रस्ताव पनि ल्याउनु भएको थियो । हामीले कुनै निर्णय भने गरेनौं’, उहाँले भन्नुभयोे, ‘गाउँपालिकालाई नगरपालिका बनाऔं भन्नेमा भने सर्वसहमति जुटेको थियो ।’

अध्यक्ष थारु स्थानीय तहलाई टुक्र्याउँदा गाउँपालिकालाई कुनै जानकारी आउनु पर्ने भए पनि हालसम्म त्यस्तो कुनै जानकारी नआएको बताउँनुहुन्छ ।

  • बाँकेका स्थानीय तह पुनर्संरचना गरिएको बारे संघीय सरकारको राजपत्र

यो राजपत्रमा प्रकाशित भएको कुरा कार्यान्वयन भएमा बाँकेमा राजनीतिक विभाजन हेरफेर हुनेछ । ८ स्थानीय तह रहेको जिल्लामा एउटा थपिएर ९ पुग्नेछ । एउटा मात्र नगरपालिका रहेकोमा थप एक वटा नगरपालिका थपिनेछ ।

क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका राप्तीसोनारीलाई राजपत्रमा राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी गरी दुई गाउँपालिका बनाइएको छ ।

साबिकका खासकुश्मा, महादेवपुरी र कचनापुर गाविस हालका वडा नं. १, २, ३, ८ र ९ लाई राप्ती गाउँपालिका र साबिकका बैजापुर, बिनौना र फत्तेपुर हालका वडाहरु ४, ५, ६ र ७ लाई सोनारी गाउँपालिका बनाइने कुरा राजपत्रमा उल्लेख छ । त्यसैगरी अहिले ८ वटा वडा रहेको खजुरा गाउँपालिका नगरपालिका हुँदा ९ वटा वडा प्रस्तावित गरिएको छ ।

खजुरा २०७३ साल फागुन २७ गतेको निणर्य अनुसार साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाविसलाई जोडेर गाउँपालिका घोषणा भएको हो । यी स्थानीय तह पुनर्संरचना हुँदा बाँके जिल्लामा १ उपमहानगरपालिका, २ नगरपालिका र ६ वटा गाउँपालिका हुनेछन् ।

गूडन्युज साप्ताहिक पत्रिकाबाट

Next Post

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज हङकङसँग खेल्दै

२०७८ आश्विन ४, सोमबार १८:३५
काठमाण्डौ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा […]

सम्बन्धित समाचार