समावेशीको प्रचारमा जुट्यो एमाले

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन २०८०

  ।   २०८० श्रावण २९, सोमबार १२:१०

फोटो क्याप्सन: नेपालगन्जको घरवारी टोलमा समावेशी प्यानलका उम्मेदवारका लागि भोट माग्दै नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य । फोटो : गुडन्यूज साप्ताहिक  ।


नेपालगन्ज : गत शुक्रबार नेपालगन्जको घरवारी टोलमा ठूलो संख्यामा उद्योगी व्यवसायी भोट माग्दै गरेको अवस्थामा भेटिए । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा समावेशी प्यानलको चुनावी अभियान चलेको थियो । श्रेष्ठ एमाले निकट उद्योगी व्यवसायी संगठनका अध्यक्ष पनि हुनुहुन्छ । श्रेष्ठसँगै एमाले निकट ठूलो संख्याका उद्योगी व्यवसायी पनि भोट माग्दै हिडेका थिए । ‘समावेशीले अघिल्लो निर्वाचनमा अत्याधिक बहुमत साथ प्यानलले निर्वाचन जितेको थियो । यो निर्वाचनमा पनि टंक धामीको नेतृत्वमा अत्यन्तै जुझारु टिम बनेको छ । उद्योगी व्यवसायीका हकहितका लागि राम्रा प्रतिबद्धताहरु सार्वजनिक गर्नु भएको छ’, श्रेष्ठले व्यवसायीसँग आग्रह गर्नु भएको थियोे, ‘समावेशी प्यानललाई जिताउन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह गर्र्न चाहन्छु ।’

समावेशी प्यानलमा नेकपा (माओवादी) केन्द्र निकट व्यवसायी टंकबहादुर धामी अध्यक्षको उम्मेदवार बन्नुभएको छ । एमालेबाट वाणिज्य उपाध्यक्ष हरिलाल न्यौपाने र महासचिवमा भीमबहादुर रानाभाट उम्मेदवार हुनुहुन्छ । एमालेबाट विष्णु श्रेष्ठ, तोपबहादुर थापा, बुद्धिबहादुर विके सदस्य र सञ्जय कुमार अग्रवाल एशोसियट सदस्य गरी चार जना सदस्य पनि उम्मेदवार बन्नुभएको छ ।

एमालेले अध्यक्षमा रचना श्रेष्ठ, उद्योग उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ र एशोसियट सदस्यमा अग्रवाललाई बागी उम्मेदवार बनाएको थियो । रचनाले उम्मेदवारी फिर्ता लिनुभयो । राजीव तेलंगाले उम्मेदवारी फिर्ता गराएर समावेशी प्यानलले सञ्जयलाई प्यानलमा समेटेको छ । एमाले नेतालाई समर्थक र प्रस्तावक बनाएर बागी उम्मेदवारी दिएका श्रेष्ठ भने उम्मेदवारी फिर्ता नलिएर भोट माग्दै हिडिरहनु भएको छ । अग्रवाललाई टिममा समावेश गरेसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ मा हुने निर्वाचनमा समावेशी प्यानलका उम्मेदवारलाई जिताउन नेकपा (एमाले) बाँकेको टोली पनि प्रचारमा जुटेको छ । एमाले निकट उद्योगी व्यवसायी त उम्मेदवारसँगै हिँडेका छन् । भोट पनि माग्दै छन् । एमाले निकट अग्रजहरु व्यवसायी त चुनावी अभियानको कमाण्ड पनि सम्हालिरहनु भएको छ ।

शुक्रबार धम्बोझी चोकमा प्रचारमा जुटेको समावेशी प्यानलको घरदैलो घरबारी टोलबाट त्रिवेणी मोडसम्म पुगेको थियो । घरदैलो अभियानमा संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य पनि सहभागी हुनुहुन्थ्यो । उहाँले पनि उद्योगी «व्यवसायीहरुसँग समावेशी प्यानलका लागि भोट मागिरहनु भएको थियो । समावेशी प्यानलमा माओेवादी केन्द्र, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल निकट उद्योगी व्यवसायीको संयुक्त प्यानल बनेको छ ।

समावेशी प्यानलका निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्रेल प्यानलभित्र एकमतका साथ उम्मेदवारहरु चुनावी अभियानमा लागेको बताउँनुहुन्छ । उहाँले गुडन्यूजसँग भन्नुभयो, ‘समावेशी प्यानलमा अब कुनै पनि मतभेद छैन । संघमा लामो समय नेतृत्वमा रहेका अग्रज र नयाँ पुस्ताका युवाहरु उम्मेदवार टिममा समेटिएका छन् । साँच्चीकै समावेशी टिम बनेकाले उम्मेदवारहरु निकै उत्साही हुनुहुन्छ ।’

प्यानलका प्रकाशन समिति संयोजक कोषराज रेग्मी उम्मेदवारका लागि आवश्यक पर्ने प्रतिबद्धता पत्र, अपिल, ब्रोेसर, उम्मेदवारको नामावलीसहितको रंगिन पम्पिलेट बोकेर अहिले उम्मेदवारहरु मतदाता माझ भोट माग्दै हिँडिरहेको बताउँछन् ।

‘यो कुनै दलको निर्वाचन होइन । विशुद्ध उद्योगी व्यवसायीको चुनाव हो । विभिन्न दलमा आस्था राख्ने उद्योगी व्यवसायीका समूहको प्रतिनिधित्व भएकाले दलका नेतालाई पनि चुनाव लागेको छ’, उहाँले प्रष्ट पार्नु भयो, ‘प्रत्यक्ष रुपमा दल नै चुनावी प्रचारमा छैनन् । दलको संगठन र उद्योगी व्यवसायीको संघसंस्थामा रहेका साथीहरु समावेशीलाई जिताउन दिलो ज्यान दिएर, दिनरात नभनेर चुनावी अभियानमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा झैं समावेशी प्यानलले नै चुनाव जित्ने माहोल बन्दै गएको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षमा टंकबहादुर धामी, उपाध्यक्ष (वाणिज्य) हरिलाल न्यौपाने, उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवी ओली, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे,  महासचिवमा भीमबहादुर रानाभाट, उप–महासचिव मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढले उम्मेदवारी दर्ता गर्नुभएको छ । सदस्यहरुमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर विके, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द र जमालुदिन अन्सारी, सम्बद्ध सदस्यमा फणाधर भण्डारी, एशोसियट सदस्यमा सञ्जय कुमार अग्रवाल र कमलकुमार कार्कीको उम्मेदवारी परेको छ । साझा प्रजातान्त्रिक प्यानलबाट भने ललितकुमार रौनियारको नेतृत्वमा टिम बनेको छ ।( गुडन्युज साप्ताहिकबाट)

Next Post

जनमत पार्टीकी अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२०८० श्रावण २९, सोमबार १२:१०
संवाददाता । जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको छ । साहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ । उहाँलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री […]