निर्वाचन प्रयोजनार्थ ३ वटासम्म सम्पर्क कार्यालय खोल्न सक्ने अनुमति

  ।   २०७९ कार्तिक ८, मंगलवार १५:३७

काठमाडौं ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनार्थ राजनीतिक दल र उम्मेदवारलाई ३ वटासम्म सम्पर्क कार्यालय खोल्न सक्ने अनुमति दिएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो । त्यस्तै, प्रदेशसभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने र माथिका प्रकरण नं. १, २ र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिह्न प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भए त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने आयोगले स्पष्ट पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भए त्यस्तो घरको घरभाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ मा आयोगले संविधान र प्रचलित कानुनको अधीनमा रही दलले गर्ने काम–कारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्नेछ ।

Next Post

समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक (नामावली सहित)

२०७९ कार्तिक ८, मंगलवार १५:३७
संवाददाता । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले कात्तिक ९ गते सबै पार्टीका उम्मेदवारहरूको नाम प्रकाशित गरेको हो । प्रतिनिधि सभा सदस्य तर्फ सबै दलको गरी २ हजार १९९ जनाको उम्मेदवारी प्रकाशित गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिनुभयो । आयोगले […]