संवाददाता ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल–भारत यातायातका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।
यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने सचिव बरालको भनाइ छ ।
यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।
गत चैत्र ११ गतेदेखि नेपालका कोभिड–१९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।
यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत–जावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सचिव खगराज बरालको भनाइ छ ।
थाहा खबरबाट