
सबिता चन्द
नेपालगन्ज । निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ का मतदाताको मनमा एउटै प्रश्न घुमिरहेछ—“यसपटक कसलाई भोट दिने ?” यो प्रश्नको उत्तर खोज्दा धेरैको नजर एउटै नाममा अडिन थालेको छ—दिपेन्द्र बिष्ट। प्रश्न उठ्छ, किन दिपेन्द्र बिष्टलाई नै मत दिने?
पहिलो कारण, उहाँको कामले बोलेको जीवनयात्रा हो। दिपेन्द्र बिष्ट केवल चुनावका बेला देखिने नेता हुनुहुन्न । सफल उद्यमीका रूपमा उहाँले आफ्नै पहलमा ५० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिनुभएको छ। भाषणमा रोजगारीको नारा होइन, व्यवहारमै रोजगारी सिर्जना—यो कुरा मतदाताका लागि ठूलो उदाहरण बनेको छ। “नेता भएपछि गर्छु” भन्ने होइन, “पहिले नै गरेर देखाएको” यही तथ्यले उहाँलाई फरक बनाउँछ।
दोस्रो कारण, उहाँको राजनीति सुन्ने क्षमताबाट सुरु हुन्छ। घरदैलोमा बिष्ट हात जोडेर मत माग्ने मात्र होइन, टोल–टोलमा बसेर समस्या सुन्नुहुन्छ। बाटो, बत्ती, खानेपानी, शिक्षा र स्वास्थ्यका कुरा आउँदा उहाँ नोट गर्नुहुन्छ, प्रश्न गर्नुभयो र समाधानको बाटोबारे स्पष्ट धारणा राख्नु हुन्छ । नेपालगन्ज–४ की एक वृद्ध आमाको शब्दले धेरैको मन छोयो—“नेता भएर पनि हामीजस्तै बसेर कुरा गर्ने मान्छे चाहिएको थियो।” यही मानवीय व्यवहारले उहाँलाई जनताको नजिक ल्याएको छ।
तेस्रो कारण, युवाप्रतिको उहाँको दृष्टिकोण हो। खेलकुदप्रेमी बिष्ट युवालाई कुलत र निराशाबाट जोगाएर अनुशासन र नेतृत्वतर्फ डोर्याउने पक्षमा हुनुहुन्छ। खेलकुद, उद्यमशीलता र सीप विकासलाई रोजगारीसँग जोड्ने उहाँको सोचले जेन–जेड युवामा आशा जगाएको छ। “उहाँले हाम्रो भाषा बुझ्नुहुन्छ,” एक स्थानीय युवाले भने, “त्यसैले हामी उहाँसँग जोडिएका छौँ।”
चौथो कारण, उहाँको सरलता र जवाफदेहिता हो। प्रश्न आएपछि झर्को नमानेर जवाफ दिनु, आलोचनालाई पनि सम्मानपूर्वक सुन्नु—यी गुण आजको राजनीतिमा दुर्लभ मानिन्छन्। मजदुरदेखि व्यवसायीसम्म, महिला र ज्येष्ठ नागरिकसम्म सबै वर्गसँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता उहाँको ठूलो शक्ति हो।
पाँचौँ र महत्वपूर्ण कारण, विकासप्रतिको स्पष्ट एजेन्डा हो। दिपेन्द्र बिष्ट विकासलाई भाषणको सजावट होइन, परिणामको जिम्मेवारी मान्नुहुन्छ। सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीय सुझावकै आधारमा योजना बनाउने उहाँको प्रतिबद्धता मतदातालाई विश्वासिलो लागिरहेको छ।
बाँके–२ ले यसपटक पार्टीभन्दा माथि उठेर व्यक्तित्व र कर्मलाई हेर्ने संकेत दिएको छ। जनताको दुःखमा सँगै उभिने, कामले विश्वास जित्ने र भविष्यप्रति स्पष्ट दृष्टि राख्ने नेतृत्वको खोजीमा धेरैको निष्कर्ष एउटै देखिन्छ—दिपेन्द्र बिष्ट।
यसैले आज प्रश्न “किन दिपेन्द्र बिष्ट ?” होइन, बरु “यदि काम गर्ने नेतृत्व चाहियो भने दिपेन्द्र बिष्ट किन होइन ?” बन्न थालेको छ। यही प्रश्नको उत्तरमै बाँके क्षेत्र नं. २ को मतदाताको निर्णय लुकेको देखिन्छ।



