उद्योग मन्त्रीलाई नेपालगन्ज उद्योग बाणिज्य संघको आग्रह

  ।   २०८० आश्विन ५, शुक्रबार २०:२५

नेपालगञ्जका उद्योगी व्यवसायीले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग कलकारखाना तथा व्यवसाय गरेर गरिखाने वातावरण बनाइ दिन आग्रह गरेका छन् ।

उद्योगमन्त्री रिजाल ईट्टा व्यवसायी महासंघको राष्ट्रिय बार्षिक साधारणसभामा भाग लिन बाँके आएको मौका छोपेर नेपालगञ्ज उद्योग वाणिज्य संघले विहीबार विहान मन्त्रीसँग अन्तरक्रिया कार्यक्रम राखेर आफ्ना पीडा तथा गुनासा सुनाएका हुन् ।

“बैंकको चर्को व्याज छ, खुला सीमाका कारण सीमा पारीबाट खुलमखुल्ला दैनिक करोडौंको अवैध सामान आयात भैरहेको छ । विभिन्न समस्याका कारण चालु हालतमा रहेका कैयौं उद्योगहरु बन्द हुने अवस्थामा छ” उद्योगीको भनाइ छ ।

उद्योगमा नियमित बत्तिको आपूर्ति नभएको, बत्तिको समस्याका कारण उद्योगमा करोडौंका कच्चा पदार्थ नोक्सान भइरहेको, उद्योगी व्यवासायीलाई गरिखाने वातावरण बनाइ दिन उहाँहरुको आग्रह छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका (उद्योग) उपाध्यक्ष चिरञ्जीवि वलीले मन्त्री रिजालसमक्ष ११ बुँदे माग राखेको बताउनुभयो ।

उपाध्यक्ष वलीले भन्नुभयो, “उद्योगीलाई न्यून शुल्कमा सरल र सहज तरिकाले उद्योग खोलेर रोजगारीको अवस्था सिर्जना गरी बेरोजगारीका समस्या समाधान गर्ने भन्दै नयाँ उद्योग सञ्चालनका लागि २०७२ सालमा बाँकेको नौवस्तामा नौवस्ता औद्योगिक क्षेत्रको घोषणा गरियो । ८–९ बर्षसम्म पनि पाँच प्रतिशतभन्दा बढी केही काम हुन सकेको छैन ।”

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले नेपालगञ्ज नाकाबाट दैनिक ६ करोड २५ लाख रुपियाँ बराबरको सामान अवैध रुपमा भारतबाट आयात भइरहेको भन्दै त्यस कार्यलाई रोक्न माग गर्नुभयो । उहाँले भन्सार कार्यालयका काउन्टरको संख्या थप गर्नुपर्ने भन्दै सीमानाका व्यवस्थित गर्न मन्त्री रिजालसमक्ष माग गर्नुभयो ।

पश्चिम नेपालका ठूला औद्योगिक प्रतिष्ठानहरु बाँकेमा खुले पनि कम्पनी रजिष्टारको कार्यालय संघीय राजधानी काठमाडौंमा मात्र भएको हुँदा उद्योगी व्यवसायीले समस्या झेल्नुपरेको भन्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई सेवाक्षेत्र हुनेगरी नेपालगञ्जमा कम्पनी रजिष्टारको कार्यालय स्थापनाका लागि मन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष धामीले बताउनुभयो ।

उद्योगमन्त्री रिजालले उद्योगी व्यवसायीका पीडा मन्त्रालयको पनि पीडा भएको हुँदा आफू समस्या समाधानका लागि आवश्यक वातावरण तयार गर्न सधै लागिपर्ने बताउनुभयो । “उद्योग कलकारखाना बिना देश समृद्धितिर जान सक्दैन, मुलुकको अर्थतन्त्रको मेरुदण्ड तपाईहरु हो, सरकारले आवश्यक सबै सेवा सुविधा तथा सुरक्षा दिन तयार छ” मन्त्री रिजालले भन्नुभयो, “अब विस्तारै व्याज पनि घट्दै जान्छ, निराश नहुनुहोस् । न्यूनतम शुल्कमा उद्योग तथा कलकारखाना सञ्चालनका लागि जग्गा उपलव्ध गराउँछौं, हामी पूर्णरुपले सुरक्षा प्रदान गर्दै लगानीमैत्री वातावरणको सिर्जना गर्छौं ।”

Next Post

सरकार र शिक्षक बीच ६ बुदे सहमति

२०८० आश्विन ५, शुक्रबार २०:२५
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले सरकार र शिक्षकबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने तयारी भएको जानकारी दिनुभयो । गृहमन्त्री […]