संवाददाता ।
तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्किनुभएको छ । शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुग्नुभएका वाङ आज दिउँसो स्वादेश फर्किनुभएको हो ।
नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो । शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँगको भेट गर्दै औपचारिक भेटवार्तालाई निरन्तरता दिनुभएका वाङले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्दै औपचारिक वार्ता सक्नुभएको हो ।
नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो । आज बिहान शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएका वाङले शनिबार साँझ प्रधानमन्त्री देउवासँग उहाँको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको हो ।
वाङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भने आज बिहान भेटवार्ता गर्नुभएको हो । चिनियाँ विदेशमन्त्रीको तीन दिने भ्रमणलाई नेपालमा महत्वका साथ हेरिएको छ ।
भ्रमणका क्रममा विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचोसमेत परराष्ट्रमन्त्री मार्फत् नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ ।
परराष्ट्रमन्त्री खड्का र चीनको राज्यपरिषद् सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री वाङ बीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता, नेपाल–चीन पावर ग्रिड इन्टर कनेक्सन संम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रुपमा स्वास्थ्य घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
त्यसैगरी चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धि सम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायता, चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।