समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा किशोरीसंग उपमेयर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबद्धारा प्लानको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत गुलरियाका उपमेयर शुसिला गिरीसंग सो संवाद कार्यक्रम गरिएको हो । किशोरीहरुलाई स्थानीय सरकारका उपप्रमुखसंग प्रत्यक्ष भेट गराएर उनिहरुका सवाल तथा समस्याहरु बारे छलफल गराउनुका साथै बालविवाह रोकथाम लगायत बाल अधिकार र बाल संरक्षणमा स्थानीय सरकारले गरेका कामहरुका सम्बन्धमा जानकारी लिन सहज होस भन्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले किशोरी तथा बालबालिकाको स्थानीय सरकारसम्म पहुँच नै नपुग्दा उनिहरुले आफ्नो कुराहरु राख्न नपाएकोले पनि यो संवाद कार्यक्रम गरेर अवसर जुटाईदिएको बताउनुभयो ।
संवादको अवसरमा गुलरिया नगरपालिकाका ३० जना किशोरीहरुले कार्यक्रमका लागि क्लबलाई आभार व्यक्त गर्दै उपमेयरसंग प्रत्यक्ष कुराहरु राख्न तथा जानकारी लिन पाएको बताएका थिए । सो अवसरमा अधिकांश किशोरीहरुले नयाँ आर्थिक वर्षमा नगरपालिकाले किशोरीका लागि के के कार्यक्रम गर्दै छ र कति बजेट छुट्टयाएको छ ? बाल संरक्षणका लागि के के गरेको छ भन्ने जस्ता प्रश्नहरु उपमेयरसंग सोधेको परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत शान्त चौधरीले बताउनुभयो । किशोरीहरुको जिज्ञासाको जवाफ दिंदै उपमेयर शुसिला गिरीले स्थानीय सरकार किशोरी र बालबालिकाका सवालमा अत्यन्तै संवेदनशिल भएको जनाउँदै बालविवाह रोकथाम, बाल संरक्षण लगायतका सवालमा नगरपािलकाले कार्यक्रम तयार पारेर बजेट समेत विनियोजन गरेको बताउनुभयो । उहाँले यति धेरै किशोरीलाई प्रत्यक्ष भेटेर छलफल गर्न तथा जानकारी आदान प्रदान गर्न पाएकोमा यो अवसर जुटाईदिने बाँके युनेस्को क्लब र प्लान नेपालप्रति आभार व्यक्त गर्नु भएको थियो ।





