बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

  ।   २०८२ पुष ४, शुक्रबार १३:२२


सम्बाददाता

नेपालगन्ज । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सहजकर्ता, स्थानीय सरकारका प्रतिनिधि तथा सञ्चारकर्मी गरी २५४ जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले आधारभूत स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सहयोग, किशोर तथा युवामैत्री कार्यक्रमहरू र भविष्यमा यसको दिगोपनाबारे प्रकाश पार्नुभयो ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष राधेश्याम थारुले आफ्नो वडा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गर्ने गाउँपालिकाकै पहिलो वडा बन्न सफल भएकोमा गर्व व्यक्त गर्दै आगामी दिनमा किशोर–किशोरी र युवाको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता जनाउनुभयो ।
सोही प्रकारले बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्थित कालिका स्वास्थ्य चौकीलाई पनि किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । वडा अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा प्रक्रियामा क्लबले खेलेको भूमिका, समुदायस्तरमा गरिएको जनचेतनामूलक गतिविधि र सरोकारवालाबीचको समन्वयबारे जानकारी गराउनुभयो । सो कार्यक्रममा २५६ जनाको सहभागिता रहेको थियो ।

समापन मन्तव्यमा वडा अध्यक्ष पौडेलले किशोर–किशोरी नै समाजका भावी आधारस्तम्भ भएको उल्लेख गर्दै अभिभावकको भूमिकाको महत्त्वमा जोड दिनुभयो । उहाँले यस घोषणाले किशोर–सम्बन्धी समस्याहरू सम्बोधन गर्न बलियो आधार तयार भएको बताउँदै यस सेवाको निरन्तरता र सुदृढीकरणका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरिएको जानकारी दिनुभयो ।दुवै कार्यक्रम युवासञ्जालकी अध्यक्ष हिमा देवी खड्काले सञ्चालन गर्नुभएको थियो भने बाँके युनेस्को क्लबका परियोजना अधिकृत विजय शर्मा र फिल्ड सुपरभाइजर रामबहादुर थारुले सहकार्य गर्नुभएको थियो ।

Next Post

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

२०८२ पुष ४, शुक्रबार १३:२२
नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा […]