काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल म्युटेट भएर आएका भेरियन्ट मध्ये डेल्टा नै बढी रहेको जनाएको छ । नेपालमा डेल्टा भेरियन्ट म्युटेट भएर डेल्टा प्लस भेरियन्टको रूपमा समेत देखिन थालेको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कुन भेरियन्ट बढी देखिएको भन्ने पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्ने गरेको छ । जसले हालसम्म १२ जनामा डेल्टा प्लस भेरियन्ट देखिएको छ । कोरोना भाइरसको जिन शरीमा छ वा छैन भनेर पत्ता लगाउन पीसीआर परीक्षण गरेजस्तै उक्त जिनको अध्ययनका लागि जिन सिक्वेन्सिङ गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी नर्देशक डा। रुना झाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोना भाइरसले आफ्नो जिनमा साना साना म्युटेसन गरिरहन्छ, जसले खासै प्रभाव पार्दैन, तर कहिलेकाहिँ भाइरसको चरित्रमा ठूलो बदलाव ल्याउँछ । जस्तै– बढी संक्रामक हुने, छिटो फैलिने र भएका औषधिले काम नगर्ने ।’ यसरी परिवर्तित भएका कोरोनालाई नयाँ भेरियन्ट भनिने र त्यलाई विश्व स्वास्थ्य संगठनले नाम दिने गरेको छ ।
भाइरसमा भएका म्युटेसनलाई पत्ता लगाउन जिन सिक्वेन्सिङ गरिने डा। झाको भनाइ छ । सिक्वेन्सिङ गर्दा भाइरसमा आएको म्युटेसन पत्ता लगाइ, कत्तिको खतरनाक हो भनेर अध्ययन गर्न सकिने डा। झाले बताउनुभयो । विदेशबाट आएका व्यक्ति, सिसिस्त बिरामी, सिटी भ्यालु २५ भन्दा कम आएका व्यक्ति र विशेष लक्षण देखिएकाहरूको स्वाबको नमूनालाई प्राथमिकता दिएर जिन सिक्वेन्सिङ गरिने उहाँले जानकारी दिनुभयो ।