नरैनापुरमा बढ्दो अराजकता र अपारदर्शिता : नागरिक समाजद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन–पत्र

  ।   २०८२ मंसिर २१, आईतवार १४:३८

सबिता चन्द ठकुरी

बाँके — बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दै गएको प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णयविरुद्ध स्थानीय नागरिक समाज, जेन्जी युवाहरू तथा सरोकारवालाले आइतबार प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्।

ज्ञापनपत्रमा विकास तथा प्रशासनिक सेवामा देखिएको अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग र कर्मचारीबीचको निरन्तर विवादले सेवा–प्रवाह नै प्रभावित बनेको उल्लेख छ।

गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरणमा अपारदर्शी खर्च भएको आरोपसमेत नागरिक समाजले लगाएको छ । स्थायी कर्मचारीलाई जिम्मेवारीविहीन बनाउँदै अनावश्यक करार नियुक्ति गर्ने, आफन्तलाई प्राथमिकता दिने तथा कार्यालय समयमै जनसेवातर्फ उदासीन बन्ने प्रवृत्तिप्रति स्थानीयस्तरमा असन्तोष बढ्दै गएको जेन्सी युवाहरूको भनाइ छ।

अराजकताले सुशासनका आधारभूत मान्यतामै प्रहार गरेको भन्दै नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय सरकार नागरिकप्रति नैतिक, पारदर्शी र जवाफदेही हुनुपर्नेमा प्रशासनिक उदासीनता हाबी भएको टिप्पणी गरे। उनीहरूका अनुसार कमजोर नियमन र नेतृत्वहीनताले पालिकाभित्र अराजकता चरममा पुगेको छ।

शिक्षा क्षेत्र पनि अव्यवस्थित भएको नागरिक समाजको आरोप छ। विद्यालय व्यवस्थापन समिति नबन्नु, विषयगत शिक्षक अभाव, शिक्षकहरूको सामाजिक सञ्जालमार्फत राजनीतिक क्रियाकलाप, विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने गतिविधि तथा अनुगमन कमजोर हुँदा अभिभावक झन् आक्रोशित बनेका छन्। उनीहरूले शिक्षाको गुणस्तर खस्कँदै गएको दाबी गरेका छन्। ज्ञापन–पत्र बुझाउने क्रममा नागरिक अगुवा गुफरान अली शाहले भन्नुभयो, “हामी कसैसँग द्वेष राखेर होइन, नरैनापुरमा सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न दबाब दिँदैछौँ। पालिकाको हालको अभ्यासले जनविश्वासमा गम्भीर चोट पुर्‍याएको छ।” मागपत्रमा आन्दोलन रोक्न आसेपासे परिचालन गर्ने, विभाजन सिर्जना गर्ने वा भौतिक क्षति पुर्‍याउने प्रयास भए त्यसका सबै परिणामको जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनीसमेत दिइएको छ।माग सम्बोधन नभए मंसिर २४ र २५ गते कालोपट्टीसहित दुई घण्टा शान्तिपूर्ण धर्ना तथा सोही म्यादभित्र प्रतिक्रिया नआए मंसिर २६ गतेदेखि गाउँपालिका र वडा कार्यालय ‘कब्जा’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ।

ज्ञापन–पत्र बुझेपछि प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जेन्जी युवाले उठाएको धेरै माग नागरिक–मैत्री रहेको बताउनु भयो । केही मुद्दा समाधान भइसके पनि जानकारी नपुगेको हुन सक्ने उल्लेख गर्दै उहाले आफ्नो स्तरबाट तत्काल लागू गर्न मिल्ने विषय कार्यान्वयन गर्ने तथा बाँकी मुद्दाहरू कार्यपालिकाको बैठकबाट छिट्टै निर्णय गरिने आश्वासन दिनु भयो । उहाँले आन्दोलन भए पनि सेवा–प्रवाह नअड्काइदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण केसी, नमूना गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्र, प्रेम मौर्यलगायतको सहभागिता थियो। जेन्जी युवाका अनुसार मागपत्र प्रधानमन्त्री, गृह मन्त्री, सामान्य प्रशासन मन्त्री, शिक्षा मन्त्री तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत बोधार्थ पठाइएको छ।

Next Post

‘डिसइन्फर्मेसनको भेलमा सत्य डुब्न नदिन पत्रकार महत्वपूर्ण–वरिष्ठ न्यायाधीश ज्ञवाली’

२०८२ मंसिर २१, आईतवार १४:३८
नेपालगन्ज । उच्च अदालत तुलसीपुर–नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले समाजलाई दिग्भ्रमित बनाउने डिसइन्फर्मेसनको बढ्दो प्रवाह रोक्न पत्रकारको भूमिका निर्णायक बन्नुपर्ने बताउनु भएकोछ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा र उच्च अदालत बार नेपालगन्ज तथा बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा सम्पन्न ‘कानून र पत्रकारिता : अभिमुखीकरण कार्यक्रम’ […]