‘डिसइन्फर्मेसनको भेलमा सत्य डुब्न नदिन पत्रकार महत्वपूर्ण–वरिष्ठ न्यायाधीश ज्ञवाली’

  ।   २०८२ मंसिर २१, आईतवार १८:०१

नेपालगन्ज । उच्च अदालत तुलसीपुर–नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले समाजलाई दिग्भ्रमित बनाउने डिसइन्फर्मेसनको बढ्दो प्रवाह रोक्न पत्रकारको भूमिका निर्णायक बन्नुपर्ने बताउनु भएकोछ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा र उच्च अदालत बार नेपालगन्ज तथा बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा सम्पन्न ‘कानून र पत्रकारिता : अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन गर्दै उहाँले अदालतसम्बन्धी समाचारमा झन् बढी तथ्यपरकता, जिम्मेवारी र सन्तुलन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

न्यायाधीश ज्ञवालीका अनुसार अदालतका प्रक्रियाबारे सही र स्पष्ट सूचना दिनु पत्रकारको आधारभूत धर्म हो । अदालती तथ्य, टर्मिनोलोजी र कानुनी प्रक्रियाबारे न्यून ज्ञान हुँदा जनतामा भ्रम, अविश्वास र गलत बुझाइ फैलिन सक्ने उदाहरणहरू प्रशस्तै रहेको भन्दै उहाँले पत्रकारहरूलाई गहिरो अध्ययन र सचेत रिपोर्टिङ गर्न सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “आज तथ्यगत सूचना भन्दा मिसइन्फर्मेसन र डिसइन्फर्मेसन ठूलो चुनौती बनेको छ । सही सूचना नै जनताको अधिकार र लोकतन्त्रको मेरुदण्ड हो।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले अदालती रिपोर्टिङ अत्यन्त संवेदनशील हुने भएकाले पत्रकारसँग आधारभूत कानुनी समझ हुनु अपरिहार्य रहेको बताउनुभयो । अदालती ज्ञान अभावले कतिपय अवस्थामा जनतासम्म फरक–वर्णन पुगेका उदाहरणहरू समेत प्रस्तुत गर्दै उहाँले बिधागत पत्रकारिताको गुणस्तर बढाउन यस्ता अभिमुखीकरण जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारको कानुनी क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताउँदै यसले कानुनी रिपोर्टिङलाई थप सक्षम, विश्वसनीय र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उच्च अदालत बार नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीले पनि यस्ता कार्यक्रमले पत्रकारलाई अदालतसम्बन्धी समाचार बुझ्न र प्रस्तुत गर्न सहज हुने उल्लेख गर्नुभयो ।

अभिमुखीकरण सत्रमा वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले सञ्चारसम्बन्धी प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत पक्ष, तथा अधिवक्ता विकास आचार्यले अदालती रिपोर्टिङका व्यावहारिक पक्षमा सहजीकरण गर्नुभयो ।

कार्यक्रममा उच्च अदालत बार नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरजकुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मासहित चार दर्जनभन्दा बढी पत्रकारहरूको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि न्यायाधीश ज्ञवालीले पानसमा बत्ती बालेर गर्नुभयो भने सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

Next Post

थाइल्याण्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना हुने

२०८२ मंसिर २१, आईतवार १८:०१
नेपालगन्ज । लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित थाइल्याण्डमा ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना हुने भएको छ। आगामी बैशाखको तेस्रो सातामा १० किमी र ५ किमी दूरीमा प्रतिस्पर्धा गरिने दूतावासले जनाएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको अगुवाईमा विभिन्न संघ–संस्थाहरू, उद्योगी–व्यवसायी तथा सरोकारवालाबीचको बृहत छलफलपछि हरेक वर्ष नियमित रूपमा यो कार्यक्रम […]

सम्बन्धित शीर्षक