तिम्रो चितासँगै हाम्रा सपनाहरू पनि जले

प्रिय महेन्द्र धितालप्रति भावपूर्ण श्रद्धाञ्जलि

  ।   २०८३ असार २१, आईतवार ०९:४७

प्रिय महेन्द्र धितालप्रति भावपूर्ण श्रद्धाञ्जलि

लेखक: जे. एस. धिताल
मानिसको जीवनमा केही क्षण यस्ता हुन्छन्, जसलाई समयले कहिल्यै पुरानो बनाउन सक्दैन । वर्षौं बिते पनि ती क्षणहरू सम्झनाको पानामा ताजै रहिरहन्छन् । केही समाचारले केवल कानमा शब्द ठोक्क्याउँदैनन्, सिधै हृदयमा आएर जीवनभर ननिको हुने घाउ बनाइदिन्छन् । त्यसपछि जीवन पहिलेको जस्तो रहँदैन । संसार उही हुन्छ, मानिसहरू उही हुन्छन्, तर भित्रको संसार भने पूर्णतः बदलिसकेको हुन्छ ।

मेरो जीवनमा पनि त्यस्तै एउटा साँझ आयो, जसले समयलाई दुई भागमा विभाजन गरिदियो, एउटा त्यो, जब महेन्द्र हाम्रो आशाको केन्द्र थिए; अर्को त्यो, जब उनी केवल सम्झनामा सीमित भए ।
दिनभरिको कार्यबोझ र मानसिक थकान बोकेर साँझ करिब आठ बजेतिर कोठामा पुगेको थिएँ । विश्राम गर्ने सोच्दै थिएँ । त्यत्तिकैमा मोबाइलको घण्टी बज्यो । सामान्य फोन होला भन्ने ठानेर “हेलो“ मात्र भनेको थिएँ । उता दाइ दीपराज धितालको गम्भीर, भारी र पीडाले भरिएको स्वर सुनियो ।

“भाइ, म काठमाडौंको अस्पतालबाट बोल्दै छु । महेन्द्रलाई क्यान्सर भएको छ । धेरै समयदेखि कसैलाई नभनी उपचार गरिरहेका थियौँ । निको भइहाल्छ भन्ने आशा थियो । तर अहिले अवस्था निकै जटिल हुँदै गएको छ ।“

यी शब्दहरू सुन्नासाथ मेरो मन आकाशबाट भुइँमा खसेझैँ भयो । केही क्षणसम्म म बोल्न सकिनँ । शब्दहरू घाँटीमै अड्किए । विश्वास गर्न मन लागेन । जीवनले यति ठूलो परीक्षा लिन्छ भन्ने कल्पना पनि गरेको थिइनँ । निकै बेरपछि आफूलाई सम्हाल्दै मैले यति मात्र भन्न सकेँ, “दाइ, चिन्ता नगर्नुस् । हामी सबै तपाईँहरूसँग छौँ ।“

त्यो एउटा वाक्य मात्र थिएन, त्यो एउटा परिवारको साझा प्रतिबद्धताको सुरुवात थियो ।

त्यसपछि सुरु भयो महेन्द्रलाई बचाउने अभियान । सूचना तथा सञ्चार प्रविधिले टाढा रहेका आफन्तलाई एउटै भावनामा जोडिदियो । हाम्रो पुख्र्यौली थलो धिताल लिहीबाट काठमाडौं, बाँके, बर्दिया, कैलाली, सुर्खेत हुँदै देश–विदेशमा रहेका सबै आफन्तहरू एकै उद्देश्यका साथ जुट्यौँ ।

भतिज तीर्थराज धितालको पहलमा आकस्मिक जुम बैठक बस्यो । सबै अग्रजहरूको सल्लाहमा “महेन्द्र धिताल बचाऔँ“ अभियान सञ्चालन गर्ने निर्णय गरियो । आर्थिक सहयोग जुटाउने, उपचारमा कुनै कमी हुन नदिने, परिवारलाई निरन्तर साथ दिने र आवश्यक परेका सबै प्रयास गर्ने साझा संकल्प गरियो ।

डा. डक्टप्रसाद धिताल, मनरिषी धिताल, राजेन्द्र धिताल, पूर्ण धिताल, सुमन धिताल, भैरव धिताल, शंकर धिताल, रितुराज धिताल, छत्र धिताल, हरि शर्मा धिताल लगायत सबैले आफ्नो स्थानबाट सक्दो योगदान गर्नुभयो । त्यो अभियान केवल एउटा बिरामीको उपचारका लागि थिएन; त्यो रगतको सम्बन्ध, आत्मीयता र पारिवारिक एकताको जीवित उदाहरण थियो ।

हामी सबैको मनमा एउटै कामना थियो, महेन्द्र बाँचून् ।

सबैभन्दा अचम्मको कुरा के थियो भने हामी उनीप्रति चिन्तित थियौँ, तर उनी आफैँ हामीलाई ढाडस दिइरहेका थिए । फोनमा हाँस्दै भन्थे, “म ठीक छु । चिन्ता नगर्नुहोस् ।“

आज सम्झँदा लाग्छ, उनले आफ्नो पीडा लुकाएर हामीलाई आशा बाँडिरहेका थिए । रोगले शरीरलाई विस्तारै कमजोर बनाइरहेको थियो, तर उनको आत्मबल अन्तिम क्षणसम्म झुकेको थिएन ।

हाम्रो सम्बन्ध केवल आफन्तको सम्बन्ध थिएन । त्यो बाल्यकालदेखि गाँसिएको आत्मीयताको सम्बन्ध थियो । हामी भौगोलिक रूपमा हिमाल, पहाड र तराईमा छरिएर बसेका भए पनि हाम्रो मूल एउटै थियो, धिताल लिही । एउटै रगत, एउटै वंश र एउटै पारिवारिक संस्कारले हामीलाई सधैँ जोडेर राखेको थियो ।

बाल्यकालका ती दिन आज पनि मानसपटलमा ताजै छन् । बसाइँसराइका क्रममा हाम्रो परिवार कैलाली र बर्दियातिर पुगेको थियो । त्यतिबेला न सडकको सहज पहुँच थियो, न आधुनिक सञ्चारका साधन । टिकापुरबाट बर्दिया जान कर्णाली नदी काठको डुङ्गाबाट तर्नुपथ्र्यो । पाँच रुपैयाँ तिरेर नदी पार गर्ने ती दिनहरू अहिले कथा जस्ता लाग्छन् ।

तर ती कठिन यात्रामा पनि एउटा अनुपम आनन्द थियो । आफन्त भेट्ने रहरले जंगलका बाटा, काँडाघारी, खोलानाला र घण्टौँको यात्रा कहिल्यै बोझ लागेन । बाटो बिर्सिए गोठाला वा बटुवालाई सोधिन्थ्यो । घर पुगेपछि आत्मीयताको न्यानो स्पर्शले सबै थकान हराउँथ्यो ।

यिनै यात्राका सम्झनाभित्र एउटा सानो, चञ्चल र जिज्ञासु बालक सधैँ उपस्थित हुन्छ, महेन्द्र ।

उनी मभन्दा करिब बाह्र–तेह्र वर्ष कान्छा थिए । म पुग्नेबित्तिकै दौडिएर आउँथे । मेरो छेउमै बसेर फिल्म, कलाकार र कथाका बारेमा अनगिन्ती प्रश्न सोध्थे । “अंकल, त्यो फिल्मको हिरो को हो ?“, “त्यो कथाको अन्त्य के भयो ?“ जस्ता प्रश्नले घरभरि हाँसो छर्दथ्यो ।

म कथा सुनाउँथे, उनी आँखाभरि उत्सुकता बोकेर सुन्थे । कथा सकिएपछि उनको अनुहारमा देखिने निष्कपट मुस्कान आज पनि मेरो स्मृतिमा उस्तै ताजै छ ।

समय कसैका लागि रोकिँदैन । बालक युवा बने । उमेरसँगै जिम्मेवारी बढ्यो । औपचारिक शिक्षामा धेरै अघि बढ्न नसके पनि जीवनप्रतिको उत्साह कहिल्यै घटेन । उनीसँग आफ्नै सपना थिए । परिवारलाई खुसी बनाउने चाहना थियो । बाबुआमाको सहारा बन्ने अठोट थियो ।

हरेक बाबुले आफ्ना सन्तानका लागि असंख्य सपना देखेका हुन्छन् । आफ्ना रहरहरू त्यागेर, पसिना बगाएर र दुःख सहेर सन्तानको भविष्य उज्यालो बनाउन खोज्छन् । दीपराज धितालले पनि त्यही गर्नुभयो। हिमालमा जन्मिएर तराईको चर्को घाममा संघर्ष गर्नुभयो । आफू अभावमा बस्नुभयो, तर छोराको अनुहारमा मुस्कान ल्याउने प्रयास कहिल्यै छोड्नुभएन ।

उहाँलाई विश्वास थियो, एक दिन महेन्द्र नै परिवारको सबैभन्दा बलियो आधार बन्नेछन् ।

तर नियतिले मानिसका सबै योजनालाई स्वीकार गर्दैन । कहिलेकाहीँ एउटा अदृश्य शक्तिले वर्षौँदेखि सजाइएका सपनाहरू एकै झट्कामा भत्काइदिन्छ । महेन्द्रको जीवनमा पनि त्यही भयो । एउटा प्राणघातक रोगले केवल उनको शरीरमाथि आक्रमण गरेन, एउटा परिवारका सबै सपना, योजना र भविष्यलाई समेत कठोर परीक्षामा उभ्याइदियो ।

जीवनको सबैभन्दा ठूलो विडम्बना यही हो, मानिसले भविष्यका लागि सपना बुन्दै जान्छ, तर नियतिले ती सपनाहरू पूरा हुने वा नहुने निर्णय कहिल्यै मानिससँग सोध्दैन । हामी योजना बनाउँछौँ, मेहनत गर्छौँ, आशा पाल्छौँ, तर अन्तिम निर्णय जीवनको होइन, समयको हातमा हुन्छ ।

महेन्द्रको जीवनमा पनि यही भयो । उनीसँग भविष्यका अनेक सपना थिए । बाबुआमाको भरोसा थिए । आफन्तहरूको माया थियो । संघर्ष गरेर केही गर्ने इच्छा थियो । तर एउटा प्राणघातक रोगले ती सबै सपना एक–एक गर्दै खोस्न थाल्यो ।

क्यान्सर केवल शरीरलाई कमजोर बनाउने रोग होइन । यसले एउटा परिवारको आत्मविश्वासलाई पनि विस्तारै गलाउँदै लैजान्छ । सुरुवाती दिनमा रोग निको हुने आशा सबैको मनमा थियो । आधुनिक उपचार, चिकित्सकको परामर्श, नयाँ–नयाँ औषधि र आफन्तहरूको प्रार्थना, सबै कुरा महेन्द्रको जीवन बचाउने प्रयासमै केन्द्रित भए ।

काठमाडौंका अस्पतालका गल्लीहरू परिवारको दोस्रो घर बने । परीक्षणका रिपोर्टहरू दैनिक जीवनको हिस्सा बने । हरेक रिपोर्ट खोल्दा आशा र त्रास एकसाथ जन्मिन्थे । एउटा रिपोर्टले मुस्कान ल्याउँथ्यो, अर्कोले फेरि आँखा रसाउँथ्यो । उपचारका क्रममा पैसा मात्रै खर्च भएन, परिवारको मानसिक शक्ति पनि विस्तारै खर्चिँदै गयो ।

वर्षौँको कमाइ उपचारमा सकियो । सम्पत्तिभन्दा ठूलो जीवन हो भन्ने विश्वासले कसैले हिसाब गरेन । सबैले एउटै कुरा भने,“जति खर्च लागे पनि महेन्द्र निको हुनुपर्छ ।“

तर कहिलेकाहीँ धन, विज्ञान, प्रविधि र प्रार्थनाभन्दा पनि बलियो नियति हुँदोरहेछ । यही कठोर सत्यसँग परिवारले प्रत्यक्ष साक्षात्कार गर्नुप¥यो ।

यस पीडालाई झन् असह्य बनायो अर्को घटनाले । आमाको निधन भएको केही समयमै महेन्द्रमा क्यान्सर देखाप¥यो । जीवनले एकपछि अर्को चोट दिइरह्यो । रोगसँग संघर्ष गरिरहेका बेला जीवनसाथीले समेत साथ छोडिन् । त्यो घटना केवल वैवाहिक सम्बन्ध टुटेको घटना मात्र थिएन; त्यो एउटा बिरामी मानिसको भावनात्मक संसार भत्किएको क्षण पनि थियो ।

सायद रोगले शरीरभन्दा पहिले सम्बन्धहरूको परीक्षा लिन्छ । सुखका दिनमा वरिपरि देखिने धेरै अनुहारहरू दुःखका दिनमा हराउँछन् । तर त्यही कठिन समयले को आफ्ना हुन् र को पराइ हुन् भन्ने स्पष्ट पारिदिन्छ ।

यद्यपि महेन्द्रले कहिल्यै गुनासो गरेनन् । अन्तिम समयसम्म पनि उनको अनुहारमा देखिने धैर्य र सहनशीलताले हामी सबैलाई आश्चर्यचकित बनाइरह्यो ।

तर अन्ततः त्यो दिन पनि आयो, जुन दिन कुनै बाबुले आफ्नो जीवनमा कहिल्यै देख्न नपरोस् ।
बाबु दीपराज धितालले आफ्नै जवान छोराको पार्थिव शरीर आफ्नै काँधमा बोकेर अन्तिम यात्रामा हिँड्नुप¥यो ।

जुन काँधले बाल्यकालमा छोरालाई बोकेर विद्यालय पु¥याएको थियो, मेलापात घुमाएको थियो, त्यही काँधले अन्तिम बिदाइ दिनुप¥यो । जुन हातले औँला समातेर हिँड्न सिकाएको थियो, त्यही हातले दागबत्ती दिनुप¥यो ।

प्रकृतिको नियमअनुसार सन्तानले बाबुआमाको अन्त्येष्टि गर्नुपर्छ भन्ने मान्यता छ । तर जब बाबुले आफ्नै जवान छोराको चिता अगाडि उभिनुपर्छ, त्यो क्षण शब्दले व्यक्त गर्न नसकिने पीडाको क्षण हुन्छ ।

त्यो दृश्य सम्झँदा आज पनि मन काँप्छ ।
चिताको आगोमा केवल एउटा शरीर जलिरहेको थिएन । त्यहाँ एउटा बाबुको जीवनभरको सपना जलिरहेको थियो । एउटा परिवारको भविष्य जलिरहेको थियो । आफन्तहरूले वर्षौँदेखि बोकेका आशा र विश्वासहरू खरानी बनिरहेका थिए ।
त्यही भएर आज पनि मनले बारम्बार भन्न बाध्य हुन्छ, “महेन्द्र, तिम्रो चितासँगै हाम्रा सपनाहरू पनि जले ।“