अफगानिस्तानबाट अहिलेसम्म २८८ नेपालीको उद्धार

  ।   २०७८ भाद्र ३, बिहीबार ०७:१७


काठमाडौं । अफगानिस्तानबाट अहिलेसम्म २८८ जना नेपाल फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म भदौ १ गते विहान ११८ जना, राति ८४ जना, भदौ २ गते बिहान ६१ जना र अपराहन्न २५ जना गरि अहिलेसम्म २८८ जनाको उद्धार भएको हो।

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेर काम गरिरहेको छ। मन्त्रालयले अफगानिस्तानबाट उद्धार भएका थप नेपाली आउने क्रममा रहेको जनाएको छ।

कन्सुलर सेवा बिभागको वेभसाइटमा अहिलेसम्म २९६ जनाले आफ्नो विवरण दर्ता गरेको र दर्ता भएका मध्ये १६ जना नागरिकको उद्धार भएर नेपाल आइसकेको मन्त्रालय्ले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन्।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ। अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ। यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल गरिरहेको छ।

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ। आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ।

यस्तै, कार्यदलको बुधबारको बैठकले तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ। अफगानिस्तानमा कार्यरत नेपालीले सामाजिक सञ्जालको प्रयोग गरेर आपसमा सुरक्षास्थिति तथा उद्धारसम्बन्धी सूचना आदानप्रदान गर्ने र सार्वजनिक भएका नम्बरमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ।

उद्धारको प्रक्रिया सुरु भई स्वदेश आउने क्रममा रहेका नेपालीको नेपाल आगमनपश्चात् गर्ने कोभिड–१९ को परीक्षण तथा क्वारेन्टिनलगायत कार्यको सहजताका लागि आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस

Next Post

अफगानिस्तानका राष्ट्रपति घानी यूएईको शरणमा

२०७८ भाद्र ३, बिहीबार ०७:१७
काठमाण्डौ । अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ । अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी […]

सम्बन्धित शीर्षक