श्रीलङ्कामा झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने रत्न एकैढिक्कामा फेला

  ।   २०७८ श्रावण १३, बुधबार १६:४२

संवाददाता ।
श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ’स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको छ । उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो ।

रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० किला तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बीबीसीलाई बताएका छन् । रत्नपुरमा बहुमूल्य रत्न भेटिने गरेको छ ।

हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ । उक्त विशाल रत्नलाई “सेरन्डिपिटी सफायर“ नामकरण गरिएको छ ।

“इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए । पछि हामीले यो विशाल वस्तु भेट्यौँ,“ उक्त मणिको स्वामित्व भएका गामागेले बीबीसीलाई बताउनुभयो । गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे ।

सुरक्षाका कारण उहाँले आफ्नो पूरा नाम र ठेगाना बताउनुभएन । विशाल नीलमणि फेला परेपछि गामागेले सम्बद्ध अधिकारीहरूलाई सूचित गर्नुभएको थियो ।

झन्डै एक वर्ष लगाएर माटो तथा अन्य विकार हटाएपछि बल्ल उक्त पत्थरको विश्लेषण गरी नीलमणि भएको उनीहरूले प्रमाणित गरिदिएका थिए । गामागेका अनुसार सफा गर्ने क्रममा पत्थरको विशाल ढिक्काबाट केही टुक्रा झरेका थिए । ती उच्चगुणस्तरीय स्टार सफायर भएको पत्ता लाग्यो । स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नहरूको सहर भन्ने हुन्छ ।

विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए । श्रीलङ्का नीलमणि र अन्य बहुमूल्य रत्नको ठूलो निर्यातकर्ता हो । गत वर्ष श्रीलङ्काले रत्न, प्रशोधित हीरा र जवाहिरातको निर्यात गरेर झन्डै ५० करोड डलर अर्थात् साढे ५९ अर्ब नेपाली रुपैयाँ आम्दानी ग¥यो । प्रसिद्ध रत्नविद् डाक्टर गामिनी जोयसाले आफूले पहिला कहिल्यै त्यति ठूलो रत्न नदेखेको बीबीसीलाई बताउनुभएको छ ।

“सम्भवत : त्यो ४० करोड वर्षअघि बनेको हुनुपर्छ,“ उहाँले भन्नुभयो ।

उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्चगुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ । कोभिड महामारीका कारण लकडाउनले गर्दा देशको रत्न उद्योगले घाटा खेप्नुपरेको बेला उक्त बहुमूल्य रत्न फेला परेको हो ।

स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञहरूले विश्लेषण र प्रमाणित गर्न अझै बाँकी भए पनि अन्तर्राष्ट्रिय क्रेता र विज्ञको ध्यान “सेरन्डिपिटी सफायर“ ले आकृष्ट गर्ने श्रीलङ्काको रत्न उद्योगमा काम गर्ने व्यक्तिहरूको आशा छ ।

“यो एउटा विशेष नीलमणि हो, सम्भवत : संसारकै सबैभन्दा ठूलो । यसको आकार र मूल्यका कारण हामीलाई निजी सङ्कलक वा सङ्ग्रहालयले यसमा रुचि देखाउँछन् भन्ने लाग्छ,“ राष्ट्रिय रत्न तथा जवाहिरात प्राधिकरणका अध्यक्ष तीलक वीरसिङ्घेले भन्नुभयो ।

बीबीसी नेपालीबाट

Next Post

२४ घण्टामा ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि, ३३ जनाको ज्यान गयो

२०७८ श्रावण १३, बुधबार १६:४२
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर तीन हजार आठ सय ४० जनामा कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको पीसीआर र चार हजार नौ सय २२ जनाको एन्टिजेन विधिबाट गरी १५ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ […]

सम्बन्धित समाचार