अफगानिस्तानमा तालिबान लडाकुलाई सहरमा छिर्न नदिन देशभरि एक महिना कर्फ्यूको घोषणा

  ।   २०७८ श्रावण १०, आईतवार १७:३७

संवाददाता ।
अफगान सरकारले तालिबानलाई सहरहरू कब्जा गर्न नदिन देशका अधिकांश भागमा एक महिना लामो कर्फ्यू घोषणा गरेको छ । राजधानी काबुल र अरू दुईवटा प्रान्तबाहेक अन्यत्र राति १० बजेदेखि बिहान ४ बजेसम्म आउजाउमा प्रतिबन्ध लगाइएको हो ।

देशबाट अन्तर्राष्ट्रिय सैनिकहरू फिर्ता भइरहँदा तालिबान र अफगान सरकारबीच पछिल्लो दुई महिनायता सङ्घर्ष बढिरहेको छ । सो उग्रवादी समूहले देशको आधाजति भूभागमा नियन्त्रण कायम गरेको ठानिएको छ ।

बीबीसीका अफगान संवाददाता सेकन्दर केर्मानीका अनुसार शान्तिवार्ताहरू सुस्त गतिमा अघि बढेकोमा चिन्ता व्यक्त भएको छ । उहाँका अनुसार अबको लडाइँको केन्द्र बढी जनघनत्व भएका सहरी क्षेत्र हुनेछन ।

अतिवादी इस्लामिक लडाकु समूहको पहिचान बनाएको तालिबान २० वर्षअघि अमेरिका अफगानिस्तानमा प्रवेश गरेसँगै सत्ताबाट बाहिरिएको थियो । तर अहिले तालिबानले प्रमुख सडकहरू कब्जामा लिएको छ र आपूर्ति कटौती गर्ने प्रयास गरिरहेको छ ।

कैयौँ महत्वपूर्ण सहर नजिकै तालिबान लडाकुहरू पुगे पनि उनीहरूले अहिलेसम्म तिनमा नियन्त्रण कायम गर्न सकेका छैनन् । आन्तरिक मामिला मन्त्रालयले नयाँ कर्फ्यूले हिंसालाई नियन्त्रण गर्ने र तालिबानको हिँडडुललाई सीमित तुल्याउने लक्ष्य लिएको जनाएको छ ।

उसले काबुल, पान्जसिर र नाङ्गहारमा निषेधाज्ञा नलगाइने उल्लेख गरेको छ । तालिबान लडाकुहरू अघि बढिरहँदा कान्दहारको बाहिरी क्षेत्रमा भीषण झडपहरू भएका छन ।

त्यसको प्रत्युत्तरमा अमेरिकाले उग्रवादीहरूलाई लक्षित गर्दै सो क्षेत्रमा बिहीबार हवाई आक्रमण गरेको थियो । तर आगामी अगस्ट ३१ मा अफगानिस्तानमा अमेरिकी कारबाही समाप्त हुँदै गर्दा भविष्यप्रति चिन्ताहरू व्यक्त भएका छन् ।

अमेरिकी नेतृत्वको फौजले सन् २००१ को अक्टोबरमा तालिबानलाई सत्ताबाट हटाएको थियो । उक्त समूहले ओसामा बिन लादेन र सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गर्ने अरू व्यक्तिहरूलाई संरक्षण दिएको थियो ।

राष्ट्रपति बाइडनले फौज फिर्तीको अमेरिकी निर्णय सही भएको उल्लेख गर्दै अफगानिस्तान पश्चिमा देशका लागि षड्यन्त्र गर्न विदेशी जिहादीहरूले प्रयोग गर्ने अखडा नबन्ने अमेरिकी सैनिकहरूले सुनिश्चित गरेको बताएका छन ।

बीबीसी नेपालीबाट

Next Post

बाँकेको बैजनाथमा चोरहरुको आतंक प्रहरी भने मौन

२०७८ श्रावण १०, आईतवार १७:३७
बाँके । बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँमा शनिबार राती स्थानीय सुरत सिंह ठकुरीको घरमा चोरी भएको छ । चोरहरुको आतंकले सर्वसाधारणहरु त्रसित छन् । नगद करिब १५ हजार सहित सुनचाँदिका गरगहना चोरिभएको सुरत सिंह ठकुरीले बताउनु भयो । त्यस्तै सुनको सिक्री १ थान औंठि २ थान तिलहरी १ थान […]

सम्बन्धित शीर्षक