- रमेश कुमार थापा
कपास खेतीलाई “सेतो सुन खेती“ भनिंदो रहेछ । नेपाल लगायत संसारका एकसय भन्दा बढी देशहरुमा कुल खेतीयोग्य जमिनको २.५ प्रतिसत भू–भागमा उत्पादन हुने कपास खेती अग्रणी नगदे बाली रहेछ ।
करीब ७००० बर्ष अगाडी देखि कपास खेती गरिंदै आएको मानिदो रहेछ । कपासलाई कम लागतमा उत्पादन हुने नगदे बाली पनि भनिंदो रहेछ ।
भारत, चीन, अमेरीका, पाकिस्तान, ब्राजिल, उज्वेकिस्तान, अष्ट्रेलिया, टर्की, अर्जेन्टीना, ग्रीस बिश्वका प्रमुख कपास उत्पादक देश हुन । हाल संसारमा बर्षेनी २,६१,७२,६७८ टन कपास उत्पादन हुँदोरहेछ ।
त्यसमध्ये भारत एक्लैले ६,१८,८००० टन र चीन एक्लैले ६१,७८,३१८ टन कपास उत्पादन गर्दा रहेछन । कपास वन्यजन्तुबाट कम नोक्सान हुने बहुउपयोगि खेति रहेछ ।
उत्पादन भएको कपासबाट बिउदाना अलग गर्ने कामलाई जिनिङ्ग गर्ने भँनिदो रहेछ । यसरी जिनिङ्ग गरेर कपास र बिउको दाना अलग गरीसकेपछि कपासको गाँठ बनाएर बाँध्ने काम गरिन्छ भने बिउको दानालाई पेल्ने काम गरिन्छ ।
बिउको दाना पेलेर निस्कने झोल वनस्पति घ्यूको रुपमा प्रयोग गरिन्छ भने पीना पशुपंक्षीको दाना बनाउन प्रयोग गरिन्छ । केहि बर्ष अगाडीसम्म बर्दिया, बाँके, दाङ्ग लगायतका जिल्लाहरुमा व्यवशायिक कपास खेति गरिन्थ्यो ।
त्यतिबेलाको अवस्थामा नेपालको ३६ हजार टन कपास उत्पादन गर्न सक्ने क्षमता रहेको भन्ने देखिन्छ । तर हाल वार्षिक ४५ टन मात्र कपास उत्पादन हुने गरेको देखिन्छ ।
जनतालाई कपास खेती गर्न सहयोग गरी उत्पादित कपास खरीद समेत गर्नका लागि २०३७ सालमा कपास बिकास समिति गठन भएको थियो ।
कपास बिकास समितिले किसानले उत्पादन गरेको कपास खरीद गरी बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई बिक्री गर्दथ्यो । बि.स. २०५६ साल भन्दा अगाडी सम्म हेटौंडा कपडा उद्योगमा कपास बिकास समितिबाट कपास पठाइन्थ्यो ।
कपास बिकास समितिका ८ वटा आधुनिक कपास गोदाम र ५ वटा प्रशोधन केन्द्र छन । समितिले २०४४ सालमा खरीद गरेका प्रति घण्टा ८०० के.जि.कपास प्रशोधन गर्ने क्षमता भएका आधुनिक जिनिङ्ग मेसिन हाल प्रयोग बिहिन अवस्थामा छन ।
हाल नेपालले वर्षेनी ४–५ अर्बको कपास आयत गर्दछ । तर बिडम्बनाको कुरा नेपालमै उत्पादन भएको २१३ टन कपास बिक्री नभएर लामो समय देखि गोदाममै थन्किएर बसेको छ ।
यसरी नेपालको कपास बिक्री नहुनु तर बिदेशबाट वर्षेनी ठूलो परिमाणको कपास आयात गरिनु कुनै पनि हिसाबले जायज काम होइन । तर भएको त्यहि छ, जो अत्यन्त दुखःद बिषय हो ।
सरकारले कपास खेती गर्ने किसानलाई बिउ, औषधी र औषधी छर्ने मेसिन खरीदमा ५० प्रतिसत अनुदान पनि दिंदै आएको छ । तर पनि कपास खेतीमा किसानहरु उत्साहित देखिंदैनन ।
हालै IUCN Nepal ले उज्यालो नेपाल बर्दियाको सहकार्यमा बर्दियाको खाता जैविक मार्गमा पर्ने पत्थरबोझी गाऊँमा अर्गानिक कपास खेतीको परिक्षण शुरु गरेको छ ।
रसायनिक मल र बिषादी प्रयोग नगरिकन कपास उत्पादन गर्न सकिएमा यसको बजारीकरण गर्न सकिने अवस्था देखिएकोले परिक्षण खेती शुरु गरिएको हो ।
छुट्टाछुट्टै तीन प्रजातिको अर्गानिक कपास १०मि. ꭓ १० मि.साईजको २१ वटा प्लटमा रोपिएको छ । यसका साथै जमिनको माटो परिक्षण देखि बिउ रोप्ने, गोडमेल गर्ने, किरा फट्याङ्ग्राको प्रकोप, जैविक घरेलु औषधी प्रयोग तथा कपासको गुणस्तर र परिमाण समेतको अध्ययन, अनुसन्धान गरिनेछ ।
यसका साथै वन्यजन्तुबाट कपास खेतीमा हुने क्षतिको असर र परम्परागत कृषिबाली तथा अर्गानिक कपास खेतीबाट हुने आम्दानीमा के कस्तो भिन्नता देखिन्छ सो समेत अध्ययन गरिनेछ ।
चारैतिरबाट जंगलले घेरीएको पत्थरबोझी गाऊँमा वन्यजन्तुले धेरै खेतिबाली नोक्सान गर्ने भएकोले जंगल किनारका कतिपय जमिन बाँझै छोड्नु पर्ने बाध्यता रहेको छ ।
हालको परिक्षणबाट अर्गानिक कपास खेतिमा सफलता मिलेको खण्डमा खाता जैविक मार्गमा पर्ने अन्य गाऊँहरु, मध्यवर्ती क्षेत्र लगायत वन्यजन्तु प्रभावित क्षेत्रमा “सेतो सुन“ फलाउन सकिने बिश्वास गरिएको छ ।
लेखक थापा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत हुनुहुन्छ ।
(रमेश कुमार थापाको सामाजिक संञ्जाल फेसबुकबाट)