नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भेरी अस्पतालबाट गरिब, विपन्नले सहज रुपमा सेवा पाउनुपर्ने बताउनुभएको छ । भेरी अस्पताल परिवर्तनमुखी भएपनि यसबाट प्रदान गरिने सेवामा अझै सुधार ल्याउनुपर्ने उहाँको धारणा छ ।
जुम्ला जाने क्रममा नेपालगन्ज आईपुग्नुभएका मन्त्री बस्नेतले आज बिहान भेरी अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘भेरी अस्पतालका अरु सेवा बढाउनुपर्छ, यो भेगका गरिबहरुको छायाँ हो यो अस्पताल, यस कारणले मलाई यो कुरा थाहा छ, यसको स्तरोन्नतिका लागि आफ्नो क्षेत्रबाट सबै खाले प्रयास गर्न तयार छु ।’
बीर अस्पतालको जस्तै भेरी अस्पतालमा पनि बिहान ८ बजेबाट ओपिडी सेवा सञ्चालन गर्न उहाँले निर्देशन दिनुभयो । गरिबहरुलाई बेड निःशुल्क छ भनेर जानकारी दिनुपर्ने उहाँको भनाई छ । भेरी अस्पतालमा बिरामीको भिडभाड हुने गरेको जानकारी आफुले पाएको बताउँदै यसलाई सही ब्यवस्थापन गर्न नजानेका कारण भिडभाड बढेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘हाम्रो स्रोत साधन र भौतिक संरचना नभएको कारण मात्रै होईन, हाम्रो पनि केही कमजोरी छ ।’
बिरामीका कारण अहिले स्वास्थ्य मन्त्रालय अस्पताल जस्तो भएको उहाँले बताउनुभयो । पछिल्लो समयमा गाउँका अस्पतालले डाक्टरको मुख देख्न पाएको बताउँदै कतिपय कर्मचारीहरु १५-१६ वर्षदेखी एउटै कार्यालयमा काजमा बसेको, दादागिरी देखाउँदै धम्क्याउँदै पावर र पहुँचको आधारमा कार्यालय रोज्ने प्रवृत्ती रहेको सुनाउनुभयो । त्यस्तो प्रवृत्तीलाई अन्त्य गर्न आफु लागिरहेको मन्त्री बस्नेतले बताउनुभयो ।
मन्त्री बस्नेत सहितको टोलीलाई भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले स्वागत गर्नुभएको थियो । सो क्रममा प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर पवनजंग रायमाझीले अस्पतालको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सांसदहरु, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।