राप्तिसोनारीमा आतंक मच्चाउने पाटे बाघ मृत अवस्थामा भेटियो

  ।   २०८० आश्विन १०, बुधबार १०:०२

बाँके । बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतङ्क मच्चाउँदै आएको पाटे बाघ एक्कासि मृत अवस्थामा भेटिएको छ ।

विगत एक हप्तादेखि राप्तीसोनारी –२ मदुईका स्थानीय बासिन्दाका घरपालुवा पशुमाथि दैनिक जसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छोड्ने गरेको पाटे बाघ मङ्गलबार राती एक्कासि मृत अवस्थामा फेला परेको समसेर गन्ज सब डिभिजन वन कार्यालय प्रमुख सहायक वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

सहायक वन अधिकृत सुवेदीका अनुसार राप्तीसोनारी २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको सामुदायिक वन क्षेत्रको घाट गद्दी स्थानमा बेवारिसे अवस्थामा मङ्गलबार राती अन्दाजी साढे ८ बजेको समयमा भाले वयस्क बाघ मृत अवस्थामा फेला परेको हो ।

जङ्गलमा पानीको खाडलनजिक शरीरको पेटको भागमा केही माटो लागेको, शरीरको कुनै पनि भागमा घाउ चोट नदेखिएको, झट्ट हेर्दा वृद्ध तथा पेट भोको जस्तो देखिने मुखमा तथा अगाडि तर्फको खुट्टामा अन्य घरपालुवा जनावरको रगत लागेको मृत अवस्थामा उक्त बाघ फेला परेको सुबेदीले जानकारी दिनुभयो । मृत बाघलाई थप अनुसन्धानका लागि राती नै डिभिजन वन कार्यालय बाँके पठाइएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बाँकेका अनुसन्धान अधिकृत रमेश बुढाथोकीले मृत अवस्थामा फेला परेको पाटे बाघ डिभिजन वन कार्यालयमा ल्याइएको बताउनुभयो । “समसेर गन्ज सब डिभिजन वन कार्यालयबाट पठाइएको मृत पाटे बाघका बारेमा अनुसन्धान सुरु गरेका छौँ, कसैले मारेको हो या आफैँ काल गतिले मरेको भन्ने विषयमा परीक्षण रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।” अनुसन्धान अधिकृत बुढाथोकीले भन्नुभयो, “बाघको शव परीक्षणका लागि पशु चिकित्सकलाई अनुरोध गरेका छौँ, उहाँहरूको रिपोर्ट अनुसार थप कारबाही अगाडी बढाउँछौ ।”

बाघको मात्र नभएर बाघले मारेका अन्य पशुको पनि शव परीक्षण गरिने बुढाथोकीले बताउनुभयो । उहाँले बाघले मारेका अन्य पशुको शव परीक्षणका लागि आवश्यक पर्ने मृत पशुका अङ्ग लिनका लागि वन कार्यालयको टोलीलाई राप्तीसोनारी २ मदुई पठाइएको छ । मृत बाघको शरीरको लम्बाई ९ दशमलव ६६ फिट रहेको र अन्दाजी १६(१७ वर्ष उमेरको भाले वयस्क बाघ रहेको बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त बाघले केही दिनदेखि राप्तीसोनारी २ मदुईका स्थानीयका घरपालुवा चौपायालाई आक्रमण गरी मार्ने तथा घाइते बनाउने गरेको थियो । हिजो दिउँसो मात्रै जङ्गलमा चराउन लगेको बेलामा स्थानीयका दुई वटा बाख्रा मारिदिएको थियो भने बेलुका गाउँ पसेर चार वटा गाईलाई मारेको थियो ।

Next Post

रुपान्तरण अभियानमा नरैनापुरको विद्युत पोल र ट्रन्सफर्मरको समस्या समाधान हुन्छ: मन्त्री बस्नेत

२०८० आश्विन १०, बुधबार १०:०२
पवन कुमार चौधरी बाँके । उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १ महिना भित्रमा बाँकेको नरैनापुरमा विद्युतको पोल र ट्रान्सफर्मरको समस्या समाधान हुने बताउँनुभएको छ । नरैनापुर गााउपालिका र वडा नं. १ को कार्यालयले मंगलबार छुट्टाछुट्टै आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्टा सिचाईको मूल नहर […]