सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले परिवर्तन, सुशासन र अवसरलाई केन्द्रमा राख्दै यथार्थपरक र कार्यान्वयनमुखी घोषणापत्र सार्वजनिक गर्नुभएको छ। घोषणापत्रले वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधानका लागि ठोस बाटो देखाएको भन्दै स्थानीयवासीमा नयाँ भरोसा जगाएको छ।
घोषणापत्रमा बाँके–२ ले पटक–पटक परीक्षण गरिसकेको पुरानो राजनीतिक अभ्यासबाट बाहिर निस्केर नयाँ सोच र नतिजामुखी नेतृत्व आवश्यक रहेको उल्लेख छ। बिष्टले आफू जनताको बीचबाट आएको प्रतिनिधि भएको बताउँदै विकासको मूल आधार इमानदारी, समावेशिता र प्रविधिको सदुपयोग हुने स्पष्ट पारेका छन्।
भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै बिष्टले सरकारी बजेट, योजना र ठेक्काको विवरण अनलाइन सार्वजनिक गर्ने, डिजिटल उजुरी प्रणाली लागू गर्ने र वडा–तहमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्ने प्रस्ताव अघि सार्नुभएको छ । यसले शासन प्रणालीप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, नागरिकता, सिफारिस, कर र शुल्कजस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउने योजना घोषणापत्रमा समेटिएको छ। यसले सर्वसाधारणलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउने र सेवा छरितो बनाउने विश्वास लिइएको छ।
घोषणापत्रले नेपालगन्जलाई आईटी र नवप्रवर्तनको केन्द्र बनाउने लक्ष्य पनि अघि सारेको छ। टेक पार्क स्थापना, युवालाई कोडिङ तथा डिजिटल सीप तालिम, र स्टार्टअपका लागि कर छुट तथा सहुलियत ऋणको व्यवस्था गरी रोजगारी सिर्जनामा जोड दिइने उल्लेख छ।
राप्ती नदीको दीगो व्यवस्थापनमार्फत बाढी समस्याको स्थायी समाधान, वैज्ञानिक तटबन्ध निर्माण, व्यावसायिक कृषि प्रवर्द्धन र बाढी व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने योजना पनि घोषणापत्रको महत्त्वपूर्ण अंश बनेको छ।
स्पष्ट लक्ष्य, व्यवहारिक योजना र सरल भाषामा प्रस्तुत घोषणापत्रले बाँके–२ मा परिवर्तन सम्भव छ भन्ने विश्वास बलियो बनाएको स्थानीयको प्रतिक्रिया छ।



