इसाई धर्मावलम्बीले पनि अल्लाह शब्द प्रयोग गर्न पाउने मलेशियाली उच्च अदालतको आदेश

  ।   २०७७ फाल्गुन २७, बिहीबार १६:०१

संवाददाता
ईश्वरलाई सम्बोधन गरिने “अल्लाह“ शब्द इसाई धर्मावलम्बीले प्रयोग गर्न नपाउने एउटा नियमलाई मलेशियाको उच्च अदालतले उल्टाइदिएको छ । एक दशकभन्दा लामो समयको एउटा कानुनी लडाइँमा मलेशियाली अदालतले यो आदेश दिएको हो ।

“अल्लाह“ शब्द प्रयोग गरिएका आफ्ना सामग्रीहरू जफत गरिएपछि एक इसाई महिलाद्वारा अदालतमा चुनौती दिइएको मुद्दाको यो एउटा पाटो हो ।

मलेशियामा गैरमुस्लिमले “अल्लाह“ शब्द प्रयोग गरेको विषयले विगतमा तनाव तथा हिंसा निम्त्याएका उदाहरण छन् । मलेशियाको कुल जनसङ्ख्यामध्ये दुई तिहाइ मुस्लिम छन् ।

तर इसाई समुदायको पनि त्यहाँ ठूलै सङ्ख्यामा बसोबास रहेको छ । “अल्लाह“ शब्द अरेबिक हुँदै मलाया भाषाबाट आफूहरूमाझ ईश्वरलाई सम्बोधन गर्न शताब्दीऔँदेखि प्रयोगमा रहेको इसाई समुदायको तर्क छ ।

मलेशियाको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । यद्यपि पछिल्ला वर्षहरूमा त्यहाँ धार्मिक तनावहरू बढेका छन ।

अवैध र असंवैधानिक’
सन् २००८ मा जिल आयरल्यान्ड लवरेन्स बिल नाम गर्नुभएकी एक इसाई महिलाबाट मलाया भाषामा “अल्लाह“ शब्द प्रयोग भएका कम्प्याक्ट डिस्कहरू विमानस्थलबाट जफत गरिएको थियो ।

त्यसपछि बिलले प्रकाशन सामग्रीमा इसाई धर्मावलम्बीहरूले “अल्लाह“ शब्द प्रयोग गर्न नपाउने नियमलाई कानुनी उपचार खोज्न शुरू गर्नुभयो ।

एक दशकभन्दा बढी समयपछि बुधवार क्वालालम्पुर उच्च अदालतले आस्थाको आधारमा विभेद झेल्न नपर्ने उहाँको अधिकार भएको आदेश सुनायो ।

आफ्नो आदेशमा न्यायाधीश नोर बीले “अल्लाह“ सँगै अरेबिक भाषाबाट आएका “काबा“ (मक्कास्थित मुस्लिमहरूको पवित्रतम स्थल), “बैतुल्लाह“ (ईश्वरको घर), “सलात“ (प्रार्थना) शब्द पनि इसाईहरूले प्रयोग गर्न पाउने आदेश दिनुभएको छ ।

न्यायाधीश नोर बीले गैरमुस्लिमको हकमा ती चारवटा शब्दको प्रयोगमाथि प्रतिबन्ध लगाउने नियम “अवैध“ र “असंवैधानिक“ भएको ठहर गर्नुभएको छ ।

बीबीसी नेपालबाट

Next Post

अकोराबमा अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन

२०७७ फाल्गुन २७, बिहीबार १६:०१
संवाददाता । २०७७ फागुन २५ बाट सुरु भएको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १५ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका लागि भएको मतदानमा कुल खसेको […]