।। डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत राजु क्षेत्री….
आगलागीका घटना मनसुन (पानी) मा निर्भर रहन्छन । पानी कम परेर चारैतिर सुख्खा भई खडेरी पर्न गएमा आगलागी (डडेलो) का घटना बढी हुन्छन । तर पानी धेरै पर्यो, जमिन सुख्खा हुन पाएन भने आगलागीका घटनाहरु पनि कम हुन पाउँछन । बाँकेमा पनि प्रत्येक बर्ष गर्मी (सुख्खायाम) का बेला गाउँटोलमा आगलागी हुने, वन क्षेत्रमा डडेलो लाग्ने समस्या छ । खासगरी वनक्षेत्रमा लाग्ने डडेलो नियन्त्रणका लागी भएको तयारी बारे साथी प्रेम विश्वकर्माले डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत राजु क्षेत्री सगँ कुराकानी गर्नुभएको छ ।
१. आगलागी (डडेलो) का घटना र नियन्त्रणका सम्बन्धमा यसपाली बाँकेमा के कस्तो योजना बनाउनुभएको छ ?
वास्तवमै, आगलागी (डडेलो) को घटनाका हिसाबले बाँके जिल्ला अत्यतै जोखिमयुक्त जिल्ला हो । समग्र क्षेत्रफलको लगभग ५१ प्रतिशत भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ ।
हामीले लगभग १ लाख ११ हजार हेक्टर वन क्षेत्रको ब्यवस्थापनको जिम्मेवारी लिएका छौं । यसका लागी दुई वटा निकायहरु खटिएका छौं ।
एउटा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले करिब आधा क्षेत्रको ब्यवस्थापन गरेको छ भने त्यसैगरी आधा वन क्षेत्रको ब्यवस्थापन डिभिजन वन कार्यालय बाँकेबाट भएको छ ।
वनको ब्यवस्थापन भन्न बित्तिकै हामीले के कुरालाई मध्येनजर राख्नुपर्छ भने वनको संरक्षण, वनको संम्वर्धन र वनको सही सदुपयोगका कुराहरु हुन । र आजको घडीमा वनको संरक्षण हामीलाई एउटा ठुलो चुनौती छ ।
वनको संरक्षण केमा भन्दा ‘वन अतिक्रम, चोरी तस्करी, निकासीबाट रोक्नु, रोग किराबाट बचाउनु, बाढी पहिरो, कटानीबाट जोगाउनु, र वनलाई आगलागी (डडेलो) हुन नदिनु’ भनेर हामीले यसरी छुट्टाएका हुन्छौं । र अहिले सुख्खायाम शुरु भएसगैं हामीलाई आगलागी (डडेलो) बाट जोगाउनु नै प्रमुख चुनौती हो ।
यो चुनौतीको सामाना गर्नको लागी हामीले जिल्लास्तरमा कार्ययोजना तयार गरेका छौं । त्यो कार्ययोजना कार्यन्वयनको सिलसिलामा अहिले लागेका छौं ।
२. उसोभए, कस्तो अवस्थामा जोखिम बढी रहन्छ ?
हामीले ब्यवस्थापनको हिसावले वन क्षेत्रको जोखिमतालाई छुट्टाएका छौं । बिशेष गरी हाम्रो राप्तीसोनारी गाउँपालिकामा ठुलो वन क्षेत्र छ । त्यसैगरी नरैनापुरमा छ । केही वन क्षेत्र कोहलपुर, डुडुवा र नेपालगंज उपमहानगरपालिका क्षेत्रमा पर्दछ ।
जानकी, खजुरा र बैजनाथ क्षेत्रमा हाम्रो वन क्षेत्र एकदमै कम छ । र वनको प्रमुख ब्यवस्थापनमा जनताको सहभागीता जुटाउने हिसावले अहिले हाम्रो सामुदायिक वन समूह प्रमुख रुपमा परिचालित संस्था हो ।
जनताले नै वनको संरक्षरण गर्ने, त्यसको हेरचाह गर्ने, त्यसको ब्यवस्थापन र सदुपयोग गर्ने कामहरु गर्नुभएको छ । सामुदायिक वन समूहहरु एकदमै सक्रिय भएको ठाउँमा आगलागी नियन्त्रणका कार्यहरु एकदमै सफल पनि भएका छन ।
राप्तीसोनारीको शम्शेरगंञ्ज क्षेत्रमा वैज्ञानिक र सक्रिय वन ब्यवस्थापनको कुराहरु गरेका छांै । त्यो क्षेत्रमा सरकारको प्रत्यक्ष निगरानी छ । त्यो क्षेत्रमा संरक्षण गर्नको लागी हामीले विभिन्न क्षेत्रमा ब्लक विभाजन गरेर अग्नी रेखाहरु बनाउने, अग्नी रेखालाई संरक्षण गर्ने, अग्नी नियन्त्रण टोली (दस्ता) बनाउने, स्थानीय समूहसँग सहकार्य गरेर हामी लागेका छौं ।
यसैगरी हाम्रो पहुँचै नपुगेको क्षेत्र भनेको राप्तीसोनारीको पल्लो छेउ र नरैनापुरको पल्लो छेउ । त्यहाँ पनि हामीले संरक्षणको कुराहरु गर्ने, अग्नी नियन्त्रणका लागी शसस्त्र वन रक्षक, नेपाली सेनाको टोली सँग समन्वय र सहकार्य गरेका छौं ।
र प्रमुख सहकार्य भनेको त, स्थानीय जनता, स्थानीय नगरपालिका–गाउँपालिका सगँ समन्वय सहकार्य गरी जाने भनेर हामीले कार्ययोजना तयार पारेका छौं ।
३. यसअघिका बर्षहरुमा आगलागी (डडेलो) का घटनाहरु कस्ता रहे ?
मनसुन सगँ आगलागी (डडेलो) का घटनाहरु प्रत्यक्ष संम्बन्धित हुन्छ । गत बर्ष एकदमै राम्रो मनसुन भयो ।
जेठ महिनामा मात्रै केही सुख्खा भयो । त्यसले गर्दा गत बर्ष हामीले ठुलो आगलागी (डडेलो) का घटना, नोक्सानीहरु बेर्होनु परेन । त्यसअघि हामीले ठुलो नोक्सानीहरु ब्यहोरेको हो । र यो बर्ष पनि मनसुन एकदमै कम भएको छ । चिस्यान कम भएर अहिले नै धेरै क्षेत्रहरु सुख्खा भइसकेको छ ।
त्यले गर्दा यो मौसम डडेलोका हिसावले हाम्रो लागी एकदमै चुनौतीपुर्ण छ । यो चुनौतीलाई समाधान गर्ने गरी जानुपर्छ, उच्च जोखिममा छौं, अहिले हामी ।
४. के गर्न सकिन्छ, समाधानका उपायहरु के–के हुन सक्छन ?
पहिलो कुरा त, हामीले जनचेतना अभिवृद्धि गर्नुपर्छ । भनेर सम्पुर्ण सामुदायिक वन उपभोक्ता समूहहरुलाई डडेलो नियन्त्रण सम्बन्धी एउटा सचेतना मुलक कार्यक्रम संञ्चालन गर्नुपर्छ भनेका छौं ।
दोस्रो गाउँपालिका–नगरपालिका स्तरमा अन्र्तक्रिया, छलफलको पहल गरेका छौं । हाम्रै डिभिजन वन कार्यालयकै पहलमा सव–डिभिजन स्तरिय अग्नी नियन्त्रण सम्बन्धी संञ्जालहरु गठन गरेर ती संञ्जाललाई अभिमुखिकरण गर्ने कामहरु गरेका छौं ।
हामी सँग भएका अग्नी नियन्त्रणका सामाग्रीहरु आवाश्यक परेका बेला प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राखेका छौं । अग्नी नियन्त्रण सम्बन्धी जिल्ला स्तरिय कार्यक्रम पनि हामी संम्भवत : चैत्र १ गते आयोजना गर्दै छौं ।
५. तपाईहरु सँग आगलागी (डडेलो) नियन्त्रणका लागी ठुला सामाग्रीहरु पर्याप्त मात्रामा छन त ?
वन नै सखाप हुने स्थिती आयो भने के गर्ने ?
ठुलो स्रोत साधान छैन । किनभने हामीलाई अग्नी नियन्त्रणका लागी भनेर दुई लाख, तीन लाख, चार लाख जस्तो बजेट हुन्छ ।
हामीसगँ स्थानीय रुपमा जुन स्रोत साधान उपलब्ध हुन्छ, जस्तै त्यहीको स्याउला, माटो, बालुवा, पानी, जनतालाई सचेत बनाएर राख्ने र जति बेला आगलागी भईहाल्छ, त्यहाँको जनताहरु आइहाल्नुपर्छ ।
त्यहाँको वनमा नोक्सानी भयो, भने सबैभन्दा बढी पीडित हुने भनेको त्यहीको स्थानीय जनतालाई हो ।
स्थानीय जनता सजक हुनु पर्छ, भनेर जनतालाई नै परिचालन गर्ने, हामी सँग भएको जनशक्ति परिचालन गर्ने, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको परिचालन गर्न सक्ने गरी तयारी गरेका छौं ।
६. घरमा, समुदायमा हुने आगलागी यहाँको कार्यालयसँग सम्बन्धित रहन्छ, हुन्छ की हुदैन ?
हरेक जनताहरु हामीसँग जोडिएका छन । जनताको घरबास जलिरहँदा खेरी हामी सँग संम्बन्धित भएन भनेर हुदैन । यदपी हामी अहिले अग्नी नियन्त्रणको कुराहरुमा केन्द्रित हुनुपर्छ ।
घरमा लागेको आगो वनमा जान सक्छ, अथवा वनमा लागेको आगो घरमा पनि आउन सक्छ । त्यसैले हामी कतै पनि आगलागी (डडेलो) नलागोस, हानी नोक्सानी नहोस, भनेर सचेत चाँही हुनै पर्छ ।
तर हाम्रो प्राथामिकता चाँही वन क्षेत्रलाई हुने भएकाले अलि बढी त्यतातिर ध्यान दिन्छौं । हामीले आगो लागेर निभाउनु भन्दा आगो लाग्नै नदिने गरी सचेत रहनु पर्छ ।
जस्तै, पातपतिङ्गर सोतरहरु हटाउने, सुखेका काठ दाउराको ब्यवस्थापन गर्ने, आगो बल्ने सामाग्रीहरु लिएर वन क्षेत्रमा नजाने, घरमै पनि सुरक्षित तरिकाले राख्ने, वन हेरालुलाई सचेत बनाउने, सामुदाय सक्रिय हुने ।
पानीको मुहान भएका क्षेत्रहरु, रुखहरु सुरक्षित राख्नुपर्यो । अग्नी रेखा बनाउनु पर्यो । र सबैले के सिक्नु पर्यो भने आगो लागी सकेपछि धेरै ठुलो कठिन हुन्छ, नियन्त्रणका लागी ।
७. हिमाली, पाहाडी र तराईका जिल्लामा हुने आगलागी (डडेलो) मा केही फरक हुन्छ, नियन्त्रणका हिसावले ? एक क्षेत्रको सिकाई अर्को क्षेत्रमा लागु गर्न सकिने केही त्यस्तो उपायहरु छन की ?
तराई भन्दा पाहाड आगलागीका हिसावले धेरै जोखिमपुर्ण क्षेत्र हो । किनभने पाहाडमा बाटोको असुविधा हुन्छ, सल्लोको प्रजातीहरु भएको ठाँउमा त झन आगो छिटै फैलने हुन्छ ।
तर तराईको हकमा हामी धेरै ठाउँमा पहुँचयुक्त छौं । जस्तो की गाडी, दमकल लिन सक्ने अवस्था छ । मान्छेहरु सहजै जान सक्छन । त्यस कारण पाहाडमा भन्दा तराईमा अग्नी नियन्त्रणका लागी सहज छ ।
८. ऐन, कानूनको कुरा गर्दा, आगो लगाउने, वा प्रयास गरिएको अवस्थामा सजाय हुन्छ ?
यस्तो हुन्छ, त्यहाँ आगलागीले पु¥याएको क्षतिको मुल्यांकन गरेर कारबाही प्रक्रिया अगाडी जाने हो । दण्ड जरिवाना, सचेत बनाउने देखी यहाँ ल्याएर थुन्नु पर्ने सम्मको अवस्था रहन सक्छ ।