नेपालका दुर्गम पहाडी जिल्लामा भारतीय लगानीमा अफिम खेती

नेपालको अफिम भारतको ब्राउन सुगर

  ।   २०७७ मंसिर ३, बुधबार १५:१३

संवाददाता, नेपालगन्ज

गत २० कार्तिकमा अपरान्ह ४ बजे बाँकेको खजुरा गाउँपालिका ८ रनियापुरबाट प्रहरीले जाजरकोट जुनिचाँदे गाउँपालिका २ का ३७ वर्षका तिलकबहादुर शाहीलाई १० किलो ४०० ग्राम लागू औषध अफिमसहित पक्राउ ग¥यो ।

लागू औषध नियन्त्रण व्युको कोटेश्वर, शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सेतो प्लाष्टिकभित्र ११ वटा पेटी बनाई राखेको अवस्थामा रहेको गिलो अफिम बरामद गरेको थियो ।

यो घटनाको ठीक पाँच दिनपछि २५ कार्तिकमा कोहलपुर नगरपालिका २ बसपार्कस्थित भेरी गेष्ट हाउसको कोठा नं. १०५ मा लागू औषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो, जिल्ला प्रहरी कार्यालयको टोलीले जाजरकोट नलगाढ नगरपालिका ९ का ४५ वर्षका जयबहादुर सिंह र ३३ वर्षका वीरेन्द्रमान सिंहलाई ७ किलोग्राम अफिमसहित पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुबाट झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा रहेको गिलो लागु औषध अफिम बरामद गरेको थियो ।

यी दुई वटा मात्र होइन, यो आर्र्थिक वर्षमा मात्र बाँके प्रहरीले तीन पटक लागू औषधसहित व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर राना लागू पदार्थको सेवन र कारोबारबारे प्रहरीको कडा निगरानी रहेको बताउनुभयो ।

भन्नुहुन्छ, ‘लागू औषधविरुद्ध प्रहरी सक्रियता निकै बढेको छ । संलग्न व्यक्ति जोसुकै भए पनि कारबाहीको दायरामा आउँछन् ।’
गत वर्ष पनि प्रहरीले नेपालगन्जको फुल्टेक्राबाट जाजरकोटका ३ जनासहित ५ जनालाई १८ किलो ५ सय ग्राम अफिमसहित पक्राउ गरेको थियो ।

यो दुई आर्थिक वर्षको तथ्यांकलाई आधार मान्दा पनि कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट लागू औषध अफिमको कारोबार भारततिर भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

लागू औषध नियन्त्रण व्युको कोटेश्वर, शाखा कार्यालय नेपालगन्जका प्रमुख इन्सपेक्टर प्रकाश केसीका अनुसार विगत केही वर्षको अवधिमा मात्र बाँकेमा प्रहरीले साढे ३४ किलो अफिमसहित १७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका अधिकांश व्यक्तिहरु पहाडी जिल्लाकै रहेका छन् ।

गत वर्ष एउटै समूहबाट साढे १८ किलो अफिम नियन्त्रणमा लिइएको थियो भने यो वर्ष तीन वटा समूहबाट गरी १४ किलो अफिमसहित ५ जना व्यक्ति नियन्त्रणमा आइसकेका छन् ।

यो वर्ष पक्राउ परेका अधिकांश जाजरकोटका रहेका छन् । लागू औषध व्यूरोका एक प्रहरी अधिकृत भन्नुहुन्छ, ‘अफिम चैत्र वैशाखमा भित्र्याउँछन् । गत वर्ष लकडाउन भएका कारण बेच्न पाएनन् । त्यही कारोबारी अहिले सल्बलाएका हुन् ।’

उहाँका अनुसार पहाडी जिल्लाका दुर्गम क्षेत्र जहाँ प्रहरीको पहुँच छैन ती ठाउँमा भारतीय लागू औषध कारोबारीको लगानीमा अफिम खेती गरिन्छ । नेपालमा अफिम खेती गर्नु गैरकानुनी मानिए पनि लुकीछिपी उत्पादन हुन्छ ।

नेपालमा उत्पादन भएको अफिम भारतमा लगेर ब्राउन सुगर उत्पादन हुन्छ । ब्राउन सुगरको नेपालमा उत्पादन हुँदैन । त्यही ब्राउन सुगर नेपालमा कारोबार हुन्छ ।

पहिले पहिले कारोबारीहरु गाउँमै खरिद गर्न पुग्थे । अहिले कोरोनाका कारण सीमा आवतजावत सहज नभएका कारण सोझासाझा नेपालीहरु लागू पदार्थको भरियाका रुपमा पक्राउ परिरहेका छन् ।

‘मुख्य कारोबारी बाहिर छन् । अफिम खेती गर्नु हुँदैैन भन्ने समेत ज्ञान नभएका व्यक्ति बढी पैसा पाउने लोभमा सोझासाझा गाउँलेहरु पक्राउ परेका छन्’, ती अधिकृत अनुभव सुनाउँनुहुन्छ्, ‘प्रहरीले पहाडी जिल्लाबाट कारोबारीलाई पछ्याइरहेकाले धेरै जना पक्राउ परेका छन् ।’

लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अफिम कारोबारमा पक्राउ पर्दा बढीमा जन्मकैदसम्म कैद, ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

गुडन्युज साप्ताहिकबाट

Next Post

२४ घण्टामा १ हजार ४४२ जना कोरोनाका सङ्क्रमित थपिए, ३ हजार ५३८ जना डिस्चार्ज

२०७७ मंसिर ३, बुधबार १५:१३
काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार नौ सय १७ पुगेको छ । बुधबार थप एक हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ६ हजार सात सय ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय […]