सुर्खेत । कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिएपछि कर्णाली प्रदेश सरकारले आज (भदौ १) देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ।
सबैभन्दा धेरै प्रभावित कर्णालीका दैलेख र सुर्खेत जिल्लामा समुदायस्तरमा पुगेर स्वाब परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नाकामा कडाइ गरिएको हो।
साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसीएमसी)ले आजदेखि लागु हुनेगरी कर्णाली प्रवेश गर्न ‘कोरोना नेगेटिभ’ पिसिआर रिपोर्ट अनिवार्य गरेको थियो।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।
कर्णाली आउनेले नाकामा पुग्नु तीन दिनअघिको कोरोना नेगेटिभ पिसिआर रिपोर्ट दिनुपर्ने व्यवस्था गरिएको मन्त्री रावलले जानकारी दिनुभयो ।
‘पछिल्लो समय लकडाउन खुकुलो भएसँगै समुदायमा कोरोना संक्रमण फैलिने सम्भावना देखियो,’ उहाँले भन्नुभयो, ‘कर्णाली बाहिरका केही ठाउँमा लक्षणसहितको कोरोना देखिएपछि पनि यहाँ त्यो अवस्था आउने जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको छ।’
आजदेखि रातिको समयमा कर्णाली प्रदेशमा आउन पूर्ण रूपमा बन्द गरिएको छ। कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरू सुर्खेतको बबई, कुइने, सल्यानको कालीमाटी, काल्चे, कपुरकोट हुन्। यी नाकाहरूमा पिसिआर रिपोर्ट हेरेरमात्र आउन दिने व्यवस्था गरिएको छ।
यस्तै भारतबाट आएकालाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिसकेपछि मात्र घर जान मिल्ने व्यवस्था गरिएको छ।
प्रदेश राजधानी वीरेन्द्रनगरलगायत मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट आजदेखि पूर्ण रूपमा बन्द हुनेछन्। केही होटल तथा रेष्टुरेन्टलाई भने स्थानीय प्रशासनको स्वीकृतिमा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी आइसोलेशन तथा क्वारेन्टिनको रूपमा प्रयोग गर्न निर्णय भएको मन्त्री रावलले बताउनुभयो । आजदेखि पर्यटकीय क्षेत्रमा समेत घुमफिरका लागि जान रोक लगाइएको उहाँले बताउनुभयो।
वीरेन्द्रनगरमा निषेधाज्ञा
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर क्षेत्रमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि भदौ ५ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।
वीरेन्द्रनगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसबाट पर्न सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसअनुसार निषेधाज्ञा जरी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
साउन २८ गते एकै दिन वीरेन्द्रनगरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै साउन २९ गते पनि वीरेन्द्रनगरका मात्र २१ जनामा कोरोना देखिएको थियो। २८ गते कोरोना पुष्टि भएकामध्ये ५ जना समुदाय स्तरका (कन्ट्याक्ट ट्रेसिङमा नपरेका) रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भदौ १ गते (आज) बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका लागि वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गरिएको उल्लेख छ।
निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध फेहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ। कार्यालयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तिय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन्।
निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिकलगायतका जमघट गर्न पाइने छैन्। एम्बुलेन्स, शववाहन, दमकल, भिआइपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन, प्रेस तथा सञ्चारकर्मीका सवारी साधन पनि निषेधाज्ञा अवधिमा चलाउन पाइनेछ। सेतोपाटी