काठमाडौं । उखु किसानहरुले चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकमको भुक्तानी छिटो मिलाईदिन सरकार समक्ष आग्रह गरेका छन् ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम भुक्तानी मिलाईदिन आग्रह गरेका हुन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले मन्त्रालयले २०७६ पुष १८ गते उखु किसानसँग गरेको सम्झौता अझैपनि कार्यान्वयन नभएको भन्दै छिटो भन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाईदिन आग्रह गर्नुभयो ।
तर सरकारले अहिले सम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरुले गरेका छन् ।
संरक्षक मिश्रले सरकारले नै सम्झौता अनुसार काम नगरी किसानहरुलाई नियोजित पीडा दिइरहेको बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने आफुले किसान प्रतिको कर्तव्य नभुलेको बताउनुभयो ।
उहाँले अहिले पनि चिनि उद्योगी संघलाई उपस्थित गराई निकास दिन छलफल चलाउने र किसानले पनि भुक्तानी पाउने र उद्योग पनि बच्ने गरी समस्याको समाधान हुने बताउनुभयो ।
लुम्बिनी सुगर मिल्स सुनवल र श्रीराम सुगर मिल्स बाहेकका चिनि मिलले दिनुपर्ने बक्यौता रकमको समस्या लगभग समाधान हुने चरणमा रहेको पनि मन्त्री भट्टले बताउनुभयो ।
मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगी बिच जायजेथा विक्री गरेर भएपनि २०७६ माघ ७ गते भित्र किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । ईमेजखबर