नेप्से तीन वर्षयताकै उच्च

  ।   २०७७ कार्तिक २४, सोमबार ०७:२८


काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ हजार ६ सय ५० नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा साढे १२ अंकले बढेपछि आइतबार नेप्से १ हजार ६ सय ४८.५८ विन्दुमा उक्लेको हो । यो तीन वर्षयताकै उच्च हो ।

यसअघि ०७४ साउन २३ मा नेप्से १ हजार ६ सय ६७ विन्दुमा थियो । त्यसपछि घट्न थालेको नेप्से ०७५ फागुन ५ मा १ हजार १ सय ०९ को न्यून विन्दुमा ओर्लियो । सो विन्दुबाट टेवा पाएर बढ्न लागेको नेप्से गत फागुन १८ मा पछिल्लो एक वर्षकै उच्च १ हजार ६ सय २०.२७ विन्दुमा पुगेको थियो । पछिल्ला केही सातायता भने नेप्से पछिल्लो उच्च विन्दु पार गर्दै उकालो लागिरहेको छ ।

नेप्से परिसूचकसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि हालसम्मकै उच्च बनेको छ । आइतबार कुल बजार पुँजीकरण २२ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको छ । यसअघि यस्तो पुँजीकरण करिब २२ खर्ब १ अर्ब रुपैयाँ कायम भएको थियो । बजार पुँजीकरण हालसम्मकै उच्च भए पनि समग्र नेप्से भने हालसम्मकै उच्च विन्दुभन्दा अझै २ सय ३३ अंकले कम हो । ०७३ साउनमा नेप्से हालसम्मकै उच्च १ हजार ८ सय ८१ विन्दुमा पुगेको थियो ।

लकडाउनका कारण घरेलु अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । सोही कारण राष्ट्रिय योजना आयोगको एक अध्ययनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) झन्डै २ खर्बले घट्ने अनुमान गरेको छ । अझै पनि कोभिड–१९ को जोखिम कायमै छ । यसकारण अर्थतन्त्र थप प्रभावित हुने र त्यो अवस्थामा आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने अनुमान गरिएको छ ।

लकडाउनका कारण लामो समय अर्थतन्त्रका धेरै क्षेत्र अझै निरन्तर सञ्चालन हुन सकेका छैनन् । अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । लगानीकर्ताले आफू भएकै स्थानबाट अनलाइनमार्फत सेयर किनबेच गर्न सक्छन् । यस्तै सेयर धितोमा कर्जाको सीमा बढेको छ भने भारित औसत जोखिम भार घटेको छ । उल्लिखित कारणले सेयर बजारमा अनुकूल अवस्था बन्दै गएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताउनुभयो ।

‘विगतमा लकडाउनका कारण लामो समय सेयर बजार बन्द भए पनि त्यसपछि खुलेको बजार बढ्दो अवस्थामा छ,’ उहाँले भन्नुभयो, ‘सेयर बजारमा लकडाउनको सकारात्मक असर देखियो ।’ सेयर बजार प्रविधिमैत्री हुँदै गएको, नयाँ कम्पनीहरू सूचीकृत भइरहेको, ब्याजदर घट्दै गएकोलगायत कारण सेयर कारोबारमा बढोत्तरी आइरहेको उहाँले दाबी गर्नुभयो ।

आइतबार करिब ४२ हजार कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार बराबरको सेयर कारोबार भयो । सो दिन नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी रकमको सेयर कारोबार भयो ।

कारोबारमा आएका १२ उपसमूहमध्ये बैंकिङका परिसूचक ०.०९ र विकास बैंकका ०.३२ प्रतिशतले घटे । बाँकी सबै समूहका परिसूचक बढे । सो दिन व्यापार समूहका परिसूचक ८.५८, उत्पादन तथा प्रशोधनका ४.०४, अन्यका २.६३, जलविद्युत्का २.१४, होटलका १।५८ र सामूहिक लगानी कोषका १.४१ प्रतिशतले बढे । यस्तै वित्त कम्पनी, निर्जीवन बिमा, लघुवित्त वित्तीय संस्था र जीवन बिमा उपसमूहका परिसूचक पनि सामान्य अंकले बढे ।

कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउन र त्यसपछि पनि दोस्रो बजारमा अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने लगानीकर्ता उच्च दरले बढेका छन् । कोभिड–१९ को जोखिम बढेसँगै सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, अनलाइन कारोबारका लागि लगानीकर्तालाई प्रोत्साहन गरिएकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिने संख्या बढेको नेप्सेले जनाएको छ ।

गत असोजसम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ लगानीकर्ताले ‘युजर नेम र पासवर्ड’ लिएका थिए । -Kantipur

Next Post

माधव नेपालसँग ओलीको गुनासो - पार्टीभित्रैबाट सरकारलाई असहयोग भयो

२०७७ कार्तिक २४, सोमबार ०७:२८
काठमाण्डौ । पार्टीभित्र विवाद बढिरहेको बेला सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसँग छलफल गर्नुभएको छ । आइतबार बालुवाटारमा नेपालसहित अरु नेताहरुसँगको छलफलमा ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गर्नुभयो । उहाँले पार्टीलाई फुटबाट जोगाउन मिलेर अघि बढ्न पनि नेता नेपालसँग आग्रह गर्नुभएको छ […]

सम्बन्धित समाचार