माधव नेपालसँग ओलीको गुनासो – पार्टीभित्रैबाट सरकारलाई असहयोग भयो

  ।   २०७७ कार्तिक २४, सोमबार ०७:२९

काठमाण्डौ । पार्टीभित्र विवाद बढिरहेको बेला सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसँग छलफल गर्नुभएको छ ।

आइतबार बालुवाटारमा नेपालसहित अरु नेताहरुसँगको छलफलमा ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गर्नुभयो । उहाँले पार्टीलाई फुटबाट जोगाउन मिलेर अघि बढ्न पनि नेता नेपालसँग आग्रह गर्नुभएको छ ।

बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो । सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको नेता पाण्डेले जानकारी दिनुभयो ।

जवाफमा नेता नेपालले फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । पार्टी र सरकार सञ्चालन विधि, प्रक्रिया, पद्धति एवं विधानअनुसार हुनुपर्नेमा जोड दिँदै नेपालले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।

पार्टी कमिटी बैठक बोलाएर ठोसरुपमा समाधानको प्रस्ताव ल्याएर विवाद समाधान गरी अगाडि बढ्न पनि नेता नेपालले सुझाव दिनुभयो । जवाफमा प्रधानमन्त्री ओलीले आवश्यक छलफल गरेर बैठक बोलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग भेटेर शनिबार लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट ओली र नेपालबीच छलफल भएको हो ।

Next Post

नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

२०७७ कार्तिक २४, सोमबार ०७:२९
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिने […]