नेपालगन्जमा चिकित्सकमाथि आक्रमणपछि आन्दोलनको चेतावनी

  ।   २०८३ बैशाख १६, बुधबार ०७:२९

सागर भण्डारी

नेपालगन्ज । नेपाल चिकित्सक संघ, भेरी शाखाले नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

शाखाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८३ वैशाख १५ गते भएको घटनामा उपचारमा संलग्न चिकित्सकमाथि असामाजिक तत्वहरूले हातपात तथा दुर्व्यवहार गरेका छन्। संघले उक्त घटनाले अस्पतालको कार्य वातावरण नै असुरक्षित बनाएको उल्लेख गर्दै यस्तो गतिविधि असह्य हुने जनाएको छ।

संघले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) अनुसार कानुनी कारबाही गर्न माग गरेको छ। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अस्पतालमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

यदि २४ घण्टाभित्र दोषीमाथि कारबाही नभए भेरी शाखाअन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी अस्पताल र क्लिनिकमा आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीरता नदेखाइए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिएको छ।

Next Post

बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला

२०८३ बैशाख १६, बुधबार ०७:२९
नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा “युवा उद्यमशीलताकालागि सार्वजनिक–निजी साझेदारी” विषयक सरोकारवाला कार्यशाला सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेसनल नेपालसंंगको साझेदारीमा बर्दियामा संचालन गरिरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत सो कार्यशाला संचालन गरिएको हो । क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवा महिलामार्फत सञ्चालित आर्थिक गतिविधिलाई […]