कोरोना सङ्क्रमित बढ्दै गएपछि निषेधाज्ञा थप्ने क्रम पनि बढ्यो

  ।   २०७७ भाद्र १, सोमबार ०८:४६

काठमाण्डौ । कोरोना सङ्क्रमितको संख्या थपिदै गएपछि जिल्ला र पालिकाले निषेधाज्ञा गर्ने क्रम बढेको छ । त्यस्तै यसअघि जारी गरिएका क्षेत्रमा पनि निषेधाज्ञा थप गर्न थालिएको छ ।

अहिलेसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयकाअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । रेडजोनमा भए पनि काठमाण्डौ उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन ।

तर, विभिन्न सेवा बन्द गरिएका छन् । भक्तपुरको मध्यपुर थिमिमा लकडाउन र काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गरेको छ । सरकारले दुई सयभन्दा धेरै सङ्क्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ ।

काठमाण्डौ, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा छन् । पर्सामा सुरक्षाकर्मी परिचालन हुने गरी भदौ १३ गतेसम्म निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो । त्यस्तै चितवनको माडीबाहेक अरु पालिकामा निषेधाज्ञा लागू गरिएको छ । सुनसरीमा पनि एक हप्ताका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

गोरखामा एक हप्ता, सुर्खेतको वीरेन्द्रनगरमा ४ दिनसम्म र मुगुको गमगढीमा भदौ १५ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

देशभर गरी अहिलेसम्म २६ हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाकै कारण एक सय चार जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उज्यालो अनलाइन

Next Post

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

२०७७ भाद्र १, सोमबार ०८:४६
काठमाण्डौ । आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश १ तथा वाग्मती प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । […]